काठमाडौं-सभामुख देवराज घिमिरेले संसद्ले बनाएका कानुनहरूले जनअपेक्षाको सम्बोधन गर्न सक्नुपर्ने बताउनु भएको छ।
काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताउनु भएको हो ।
‘हामीले बनाएका विधेयकमार्फत कानुन बनेर देशमा शासन चल्छ। यस्तो अवस्थामा जनताका अपेक्षा सम्बोधन गर्ने चुनौती छ’, उहाँले भन्नुभयो, ‘हामीले सिर्जनशील ढंगबाट सोच्ने बेला भइसकेको छ। हामी भारत र बेलायतबाट धेरै सिक्न सक्छौं।’
सभामुख घिमिरेले जनताको जीवनलाई सुखी राष्ट्र समृद्ध बनाउने दिशामा संसद्मा छलफल हुनुपर्ने बताउनु भयो।
सभामुख घिमिरेले संघीयताबारे प्रश्न उठिरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले विभिन्न क्षेत्रबाट संघीयता उचित थिएन कि जनताका माग सम्बोधन भएनन् कि भन्ने कुरा आएका छन् । यी कुरामा पनि हामीले छलफल चलाउनु पर्छ। जनअपेक्षा सम्बोधन गर्ने उपाय खोज्नुपर्छ।’
उहाँले जनताका अपेक्षा पूरा गर्न संघदेखि तलसम्म प्रभावकारी छलफल हुन आवश्यक रहेको बताउनु भयो ।
‘कानुन बनाउने र सरकारको दायित्व के हुने छलफल हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी त्यसकै लागि संघ र प्रदेशका अनुभवबारे चार दिन छलफल गर्दैछौँ।’




प्रतिक्रिया