काठमाडौँ-काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख लगायत भेला भएका छन् ।
शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी छ।
दोस्रो दिनको कार्यशाला सुरू गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ।’
सभामुख घिमिरेले कानूनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिनु भयो। उहाँले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनु भयो।
२०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान सुरू भएको थियो। अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरू संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरू सुनाउने कार्यक्रम छ।




प्रतिक्रिया