अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति हुन्: शंकर पोखरेल 

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति हुन्: शंकर पोखरेल 


रामेछाप-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको बताउनु भएको छ। उहाँले समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने बताउनु भयाे ।

पुष्पलालको ४५ स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो भँगेरीमा एमाले रामेछाप जिल्लाको समन्वयमा केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा संक्षिप्त सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

‘रामेछाप जिल्लाको भंगेरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो हो।  उहाँ जन्मिएको माटोमा आएर आज उहाँको सम्मानमा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको छ,’ पोखरेलले भन्नुभयो, ‘रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो पनि हो । उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ।’

राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यययमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो । ‘कृष्णलालले मकैको खेती लेखे वापत जेल पर्नु पर्यो र उहाँको जेलमै मृत्यु भयो,’ उहाँले भन्नुभयो, ‘परिवर्तनको आन्दोलन टंक प्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद गठन हुँदा त्यतिबेला नै लोकतान्त्रिक आन्दोलनमा लाग्नु भएका गंगालालले पहिलो पटक सबै भन्दा ठूलो सभा गरेर तत्कालिन शासकको विरुद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युुदण्ड दिइयो ।’

पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गराउनुभयो । ‘प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसका माध्ययमबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने निष्कर्षसहित विश्व कम्युनिस्टको घोषणापत्र नेपालीमा रुपान्तरण गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो,’ पोखरेलले भन्नुभयो, ‘उहाँले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले नेकपा एमालेको नाममा अस्तित्वमा छ ।’