मध्यपहाडी मन्थन-६
मध्यपहाडी लोकमार्ग पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडी जिल्ला जोड्ने राजमार्ग हो। यसलाई ‘पुष्पलाल लोकमार्ग’ पनि भनिन्छ। यो राजमार्गले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको क्षेत्रलाई जोड्दैछ। आर्थिक वर्ष २०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्यपहाडी राजमार्गको रेखांकन प्रस्ताव २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि यसको निर्माण कार्यले तीव्रता पाएको हो । २०७६ सालसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो लोकमार्ग बनाउने लक्ष्य भए पनि विभिन्न कारणले यो पूरा हुन सकेको छैन। तर सडकको लम्बाई भने विभिन्न चरण र खण्डमा वृद्धि भइरहेको छ। २०६८ साल देखि राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचिकृत यही राजमार्गको रुट बनाएर नेकपा एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि भन्दै ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बैतडीको झुलाघाटबाट सुरू गर्दै छ। यही राजमार्गमा पर्ने गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा (अक्कल)सँग मध्यपहाडी लोकमार्गले बदलेको यहाँको जनजीवन, स्थानीबासीका अपेक्षा र यस राजमार्गको आवश्यकताका यो बेला डटकमले लामो कुराकानी गरेको छ। प्रस्तुत बन्जरासँग गरिएको कुराकानीको सम्पादित अंशः
गोरखामा मध्यपहाडी पुष्पलाल राजमार्ग निर्माणको अवस्था कस्तो छ ?
यस लोकमार्गको गोरखा खण्डमा काम त भइरहेकै भन्नु पर्छ। तर जुन गति र तिव्रतामा हुनुपर्ने हो त्यस अनुसार हुन सकेको छैन। स्थानीय बजार र बस्तिसम्म जोड्ने आन्तरीक यातायातका साधन त चल्न थालेका छन्। तर यो पर्याप्त छैन। राष्ट्रिय राजमार्ग र सञ्जालमा नजोडिएसम्म हामीले फाइदा लिन सक्ने अवस्था पनि छैन। त्यसैले समग्रमा के भन्न सकिन्छ भने, गोरखामा मध्यपहाडी राजमार्ग त निर्माण भइरहेको तर अपेक्षा अनुसार काम भएको छैन।
हाल सम्मको निर्माणकार्यबाट स्थानीयबासीलाई कस्तो फाइदा पुगेको छ ?
जति सडक बनेको छ त्यसबाट केही फाइदै नभएको त भन्न मिल्दैन। केही फाइदा पनि भएको छ। २०७२ सालको भूकम्पको बेला राहात तथा उद्धारका लागि यो सडक उपयोग भयो। शुरूवाती बेलामा राहत र उद्धारको कार्य, त्यस पछि निर्माण सामग्रीको ओसार पसार जस्ता कार्यमा पनि मध्यपहाडी लोकमार्गले धेरै सहयोग गर्यो।
अर्को कुरा कृषि क्षेत्र र किसानलाई पनि केही फाइदा भएको छ। जस्तो कि, एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि सजिलो भएको छ । कृषि उपज, दूधको ओसार पसारमा पनि सहज भएको छ। तर पूर्वपश्चिम नेपाल, काठमाडौं वा पोखरासँग सिधा नजोडिए सम्म धेरै फाइदा लिन सकिने अवस्था चाहिं छैन।
सडक निर्माण पछि बजारको विकास, भौतिक पूर्वाधार विकास जस्ता कुराहरूमा के परिवर्तन आएको छ ?
जहाँ सडक निर्माण भएको छ र हुँदैछ ती क्षेत्रमा बस्ती विकास हुने, साना बजारहरु सञ्चालन र विकास हुँदै गरेको अवस्था पनि हो। अब, आरुघाट चाहिं डुवान पर्ला पर्ने चिन्ताले जसरी विकास हुनु पथ्र्यो हुन सकेको छैन। तर घ्याम्पेसाल, निदेल, नयाँसाँघु, पालुङ्टार जस्ता बजारहरू विकास हुँदै गएका छन्। सडक निर्माणलाई जति छिटो तिव्रता दिँदै पूर्णता दिन सकिन्छ त्यति नै छिटो यहाँ बजार विकास हुने अवस्था छ।
पहाडी क्षेत्रमा पूर्वाधार तथा सुविधाहरु विस्तार भई रहे पनि जनसंख्या चाहिं तराई तथा ठुला सहर केन्द्रित हुँदै गएको पछिल्लो जनगणनाको तथ्याङ्कले देखाएको छ। पहाडका वस्तिहरु रित्तिने अवस्था नआउन यो सडकको के भूमिका होला ?
हामीले बुझ्नु पर्ने कुरा के भने, मानिस किन बसाइँ सर्छ र सरिरहेको छ भन्ने हो। अघिल्लो दशकको अवस्था अर्कै थियो, परिस्थिति फरक थियो। तर अहिले पनि मानिस पहाडमा अडिन सकेको छैन। सडक पनि बनिरहेको छ, विद्युत-खानेपानी जस्ता सुविधाहरू विस्तार भइरहेको छ, बजारहरू विकास हुँदै छन् तर हामीले बस्तीहरू जोगाउन सकेका छैनौं। यसको कारण गाउँमै आम्दानीका विकल्पहरू विकास गर्न जरूरी छ। जति सुविधा भएपनि आम्दानी भएन भने विकासले खर्च मात्रै बढाउने हो। त्यसैले खर्च बढ्ने परिस्थिति बन्दै गएको छ भने आम्दानी गर्ने आधार र विकल्प पनि तयार पार्नु पर्यो। त्यसका लागि गोरखामा भनेको कृषि र पर्यटन मुख्य क्षेत्र हो। हामीले यि क्षेत्रहरूबाट आम्दानीको आधार विकास गर्न जरूरी छ। यदि यो गर्न सकिएको खण्डमा पहाडका बस्तीहरू रित्तिने क्रमलाई रोक्न पनि सकिन्छ भन्ने लाग्छ।
बुढीगण्डकी जलाशययुक्त आयोजना क्षेत्रमा समस्या देखिएको छ, यहाँको समस्या कसरी समाधान होला ?
हो, यो समस्या देखिएको छ । त्यस क्षेत्रमा सडक र बस्ति डुवानको खतरा देखिएकाले सडक निर्माणको काम हुन नसकेको हो। डुवान नहुने क्षेत्रबाट सडक लैजान बेसलाईन सर्वेको काम पनि भएको छ। तर काम शुरू भएको छैन। आँखु र बुढीगण्डकीको समस्या समाधान गरी सडक घुमाएर लैजानु पर्ने अवस्था छ। जसले गर्दा करीब १० किलोमिटरको हाराहारीमा सडक लम्बिन सक्ने देखिन्छ।
समग्र गण्डकी प्रदेशले यस लोकमार्गबाट कस्तो अपेक्षा गरेको छ ? नागरिकको जीवनमा के फरक पर्ला ?
सडक विस्तार हुनु, विकास आउनु जस्ता कुराले नागरिकको जीवनमा फरक नपार्ने भन्ने कुरा त होइन। हाम्रो गण्डकी प्रदेश भनेको कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो। त्यसैले कृषि र पर्यटनलाई पूर्वाधारमा जोड्न सकियो भने गण्डकी प्रदेशको समृद्धी सहज हुने देखिन्छ। यहाँका बस्तिसम्म आन्तरीक र बाह्य पर्यटक पुर्याउन सकिन्छ। शिक्षा र स्वास्थ्यको जुन समस्या छ, त्यो समस्या समाधानमा पनि सहयोग पुग्ने छ। कृषि उपज सजिलो गरी पोखरा, काठमाडौं लगायत देशका सवै क्षेत्रमा पुर्याउन सकिने छ। जसले गर्दा किसानको जीवन स्तर सुधारमा पनि महत्वपूर्ण सहयोग पुग्न सक्छ। तर यी सपना देखेको धेरै भइसक्यो। अपेक्षा अनुसार काम नहुँदा सर्वसाधारण निरास हुँदै गएको अवस्था छ। त्यसैले जसरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा मध्यपहाडी राजमार्गलाई राखिएको छ, सोही अनुसार गर्वगर्न लायक ढंगबाट काम अघि बढाउनु पर्ने आवश्यकता छ । लाइफलाइन भन्छन् नि मानिसहरू, हो त्यसैगरी गण्डकी प्रदेशले त लाइफ लाइइन अर्थात् जीवन रेखाको रूपमा मध्यपहाडी लोकमार्गलाई लिएका छन्।
अहिले एमालेले मध्यपहाडी लोकमार्गलाई रुट बनाएर पूर्वपश्चिम नेपाल यात्रा शुरू गर्दैछ, यस्ता अभियानले यो क्षेत्र र योजनामा के प्रभाव पार्ला ?
राजनीतिक दलहरूले विभिन्न लक्ष्य र उद्देश्य राखेर आफ्ना कार्यक्रमहरू सञ्चालन गर्छन्। एमालेको पनि आफ्नै लक्ष्य, उद्देश्य होला । यस्तो अभियानले योजनालाई सहयोग नै पुगोस भन्ने हो। नीति–निर्माण तहका व्यक्तिहरूको यात्राले पक्कै पनि नागरिक र नेतृत्वबीच सम्बन्ध स्थापित गर्न सहयोग नै पुर्याउला। नीति-निर्माताहरूले पनि राष्ट्रिय गौरवको भनिएको आयोजना, योजनाको अवस्था बुझ्लान्। तर यतिले मात्रै पुग्दैन। कुनै दलले मात्र भन्दा पनि समग्र राष्ट्रिय नीतिलेनै यस्ता योजनाहरूलाई महत्व दिन जरूरी छ । कुनै दल वा सरकार हुँदा र नहुँदा फरक नपर्ने गरी यस्ता बहुआयामीक र बहुप्रतिक्षित योजनाहरू सञ्चालन हुने र तिव्रता पाउने वातावरण बनाउन जरूरी छ।
यो सडकको उपयोगलाई कसरी जनमूखी र फलदायी बनाउन सकिएला ?
हरेक योजनाका लागि यो गम्भीर विषय हो। लाखौ र करोडौ मात्र होइन अर्बौ रुपैयाँ खर्चिएका योजनाहरूको समेत जनमूखी र बृहत् उपयोगीतामा समस्या हुने गरेको छ। जस्तो कि, मैले धरान हुँदै सप्तकोशी कटेर खुर्कोटबाट काठमाडौं भित्रिने मदन भण्डारी राजमार्गको अवस्था पनि हेरेँ। त्यस ढंगबाट अर्बौ खर्च गरेर स्तरीय सडक बनाईए पनि त्यसको हुनुपर्ने जति उपयोग भएको पाइएन। यातायातको रुट व्यवस्थापन गरेर हुन्छ कि कसरी हुन्छ यस्ता महत्वपूर्ण सडकहरूको अधिकतम उपयोगको वातावरवण बनाउनु पर्दछ। मदन भण्डारी राजमार्गमा जति सार्वजनकि यातायात सञ्चालन हुनुपर्दथ्यो त्यती भएको देखिएन।
मध्यपहाडी लोकमार्गको पनि बहुउपयोगका लागि सडक निर्माणसँगै रुट व्यवस्थापनमा पनि ध्यान दिन जरूरी छ। देशलाई सडकले मात्रै होइन यातायातले पनि जोड्न खाँचो छ। यही मध्यपहाडी राजमार्गमा पूर्वपश्चिम मात्रै होइन यसका फिडर तथा सहायक सडकहरूसँग पनि सञ्जाल कायम गर्न खाँचो छ। यस राजमार्ग नछुने तर महत्वपूर्ण स्थान एवं सहरहरूसँग पहुँच कायम गरिनुपर्छ । धनगढी, महेन्द्रनगर, सुर्खेत, पोखरा, बुटवल, भरतपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, विराटनगर लगायतका स्थानमा पुग्न सञ्जाल कायम हुने गरी सडकहरूको निर्माण तथा स्तरीकरण गरिनुपर्छ । हुन त कतिपय ठाउँमा सडक छन् पनि तर नभएको स्थानमा यस प्रकारको सञ्जाल बनाउन आवश्यक देखिन्छ।
मलाई के लाग्छ भने मध्यपहाड पहाड पूर्वपश्चिम आउजाउ हुन सक्ने गरी यो राजमार्गको निर्माण भएको हो। तर यहाँ लामा तथा छोटो दुरीको यातायातका साधन सञ्चालन भएका छैनन्। छोटो भन्नाले स्थानीय ओल्लो सहर पल्लो सहर त चलेका होलान् तर झुलाघाटबाट दैलेख आउने, पश्चिम रुकुमबाट पोखरा आउने, बाग्लुङबाट नुवाकोट जाने, गोर्खाबाट पाँचथर जाने गाडीहरू सञ्चालन भएको छैनन्। त्यसैले यस राजमार्गको नाम अनुसारको जनतालाई सेवा दिन सरकारले यहाँ सार्वजनिक सवारीको रुटको प्रबन्ध गरिदिनुपर्यो। यातायात व्यवसायीले गाडीहरू सञ्चालन गरिदिनुपर्यो। अनि न मध्यपहाड गुल्जार हुन्छ। नत्र सडक लमतन्न सुतिरहने मानिसले यात्रा गर्दा उही बाटा प्रयोग गनुपर्ने भएपछि राष्ट्रिय गौरवका आयोजनाको पनि महत्व रहन्न नि !
प्रतिक्रिया