अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको मध्यपहाडी यात्रा किन ?

नेकपा एमालेको मध्यपहाडी यात्रा किन ?


मध्यपहाडी मन्थन-१


२०७३ साल फागुन २१ गते देखि महेन्द्रराजमार्गमा मेची-महाकाली यात्रा गरेको नेकपा एमालेले २०८० साल मंसिर १४ गते देखि पुष्पलाल लोकमार्ग मार्फत मध्यपहाडको यात्रा गर्दैछ। पुष्पलाल लोकमार्ग भनेर चिनिने पूर्वको चिवाभञ्ज्याङ् देखि पश्चिमको झुलाटसम्मको १ हजार ७ सय किलोमिटरको यात्रा १६ दिनमा सक्ने एमालेको लक्ष्य छ। मध्यपहाडका २६ वटा जिल्लामा भौतिक रुपमा नै पुगेर पार्टीले जनतासँग साक्षात्कार गर्ने गरी यो कार्यक्रम तय गरिएको हो।

‘झुलाघाट-चिवाभञ्ज्याङ,समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो यात्रा एमालेको जीवनमा एक नविनतम यात्रा हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयं यात्राभरी सहभागी हुने तयारी छ। अध्यक्ष ओली सहभागी हुने खबरले मध्यपहाडका एमाले कार्यकर्ता मात्र होइन अरु पार्टीका कार्यकर्ता पनि उत्साहित भएका छन्। बसाँइसराइले खण्डहर बन्दै गएको मध्यपहाडमा एमालेले किन तीनसाता लामो यात्रा तय गरेको हो त ?

एमालेका उपमहासचिव प्रदिव ज्ञवालीले यो यात्राका ६ वटा उद्धेश्य रहेको बताउनुभएको छ। ज्ञवालीका अनुसार मध्पहाडबाट भइरहेको तिव्र बसाँइसराइका कारणहरुको पहिचान र समाधानको खोजीका लागि एमालेले यो यात्रा तय गरेको हो। यो लोकमार्गले छोएका २६ जिल्ला मध्ये २०७८ सालको जनगणना अनुसार कोशी प्रदेशको उदयपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुकुम पूर्व, कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोट गरी पाँचवटा जिल्लाको जनसंख्या वृद्धिदर मात्र सकारात्मक छ। बाँकी रहेका कोशीका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। यसैगरी बागमतीका सिन्धुली,रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ जिल्लाले पनि ठूलो जनसाँख्यिक क्षति व्योहोरेका छन्। यसैगरी गण्डकीका गोरखा, लम्जुङ, पर्वत,बागलुङ पनि जनसंख्या क्षती व्योहोरिरहेका जिल्लामा पर्दछन्। यी जिल्लाहरुको बाह्य बसाँइसराइ दर उच्च छ। मध्यपहाडी लोकमार्गमा पर्ने कर्णाली प्रदेशको दैलेख जिल्लाको पनि जनसंख्या वृद्धिदर ऋणात्मक छ। सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लाको जनसंख्या वृद्धिदर पनि नकारात्मक रहेको छ। २०७८ सालको जनगणना अनुसार मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लामा जम्मा ५७ लाख ७८ हजार ९ सय ८५ जनसंख्याको बसोबास रहेको छ।


जनजाती बहुल मध्यपहाडमा पछिल्ला दिनमा जातीय र पहिचानको नामको राजनीति घुसाएर सामाजिक सद्ध्भाव विथोल्ने अनेकन प्रयत्न भएका छन्। सद्ध्भाव विथोल्ने कार्यमा स्वयम् प्रधनमन्त्री पुष्पकमल दाहाल उद्धत हुनुहुन्छ। जातीय राज्यको रटानबाट बिस्तारै मुक्त हुँदै गरेका दाहालले विश्व आदिवासी दिवशका अवसरमा २४ साउन २०८० मा आयोजना गरिएको कार्यक्रममा आफ्नो पार्टीलाई बहुमत दिए जातीय राज्य दिने आस्वासन दिएर सामाजिक सद्ध्भाव बिथोल्नेहरुलाई ‘ब्याक अप’ गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, ‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ। चेतनाको बलमा पहिचानसहितका प्रदेशहरूको नामकरण गर्न सकिन्छ।’

एमाले पाउन नसकिने जातीय राज्य बाँडेर मिलेर बसेको समाज र सामाजिक संरचनालाई बिथोलिनबाट जोगाउन चाहन्छ । सामाजिक सद्ध्भावको यो लयलाई एमालेले यात्राको दोस्रो उद्धेश्यमा समेटेको छ। जहाँ भनिएको छ-सामाजिक सद्ध्भाव र राष्ट्रिय एकताको प्रवर्धनमा सहयोग पुर्याउने।


नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ। अर्थात २००६ सालमा स्थापना भएको नेकपा यस वर्ष ७५ वर्ष पुगेको छ । मध्यपहाडलाई जोड्न यस मध्यपहाडी राजमार्गलाई २०६६ सालमा अर्थमन्त्री सुरेन्द्र पाण्डे भएका बेला नेकपा संस्थपक पुष्पलालको नाममा नामाकरण गरिएको हो। मध्यपहाडको यात्रा गरेर पार्टीका संस्थापक महासचिवसँगै सो क्षेत्रका पुराना कम्यूनिष्ट नेताहरुलाई सम्मान गर्ने एमालेको तेस्रो उद्धेश्य रहेको छ।

तुलनात्मक रुपमा मध्यपहाडका बासिन्दा अहिले बढी निराश छन्। कारण यस क्षेत्रमा ठूला उद्योग स्थापना भएका छैनन्। रोजगारीका अवसर सिमित छन्। कृषी उत्पादन दैनिक घट्दो मात्रामा छ। मानिसहरु सुविधा र अवसरको खोजीमा सहर र तराइतिर बर्षेनी बसाँइसर्दै छन्। युवाहरु रोजगारीका लागि खाडीका देश र भारतमा जाने सबैभन्दा लामो लर्को मध्पहाडबाटै छ। जसले गर्दा यस क्षेत्रले निर्जन,जंगलामुलक र राज्यबाट पनि एक्लिएको महसुष गरेको छ। एमालेले यस यात्रा मार्फत मध्यपहाडमा आशाको सञ्चार गराउने,नेपाल सवल र समृद्ध बन्न सक्छ भन्ने आत्मविश्वास अभिवृद्धि गर्न चाहेको छ।

अहिले पनि एमालेको बलियो पकड रहेको मध्यपहाडका केही जिल्लामा माओवादीको प्रवेश गरेपछि एमालेको मत बाँडिएको छ। जस्तै कर्णालीका जाजरकोट,पश्चिम रुकुम,लुम्बिनीको पूर्वी रुकुम, गण्डकीकी गोर्खा, बागलुङ, बागमतीको सिन्धुली, कोशीको भोजपुर लगायतका ठाउँमा माओवादीले आफ्नो प्रभाव विस्तार गरेको देखिन्छ। माओवादीको पकडबाट यी ठाउँका जनतालाई मुक्त गर्न एमालेले जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव संकलन गर्ने उद्धेश्यले मध्यपहाडको यात्रा तय गरेको छ।

एमाले यस्तो पार्टी हो जसले १२ महिना ३६५ दिन नै कुनै न कुनै अभियान सञ्चालन गरिरहेको हुन्छ । यो पार्टीका नेता कार्यकर्ता फूर्सदमा बस्न चाहदैनन्। अध्यक्ष केपी शर्मा ओली अहिले पनि दैनिक १८/२० घण्टा पार्टी र देशका लागि काममा खटिरहनु भएको हुन्छ । गतवर्षको निर्वाचन पछि सबै राजनीतिक दलहरु सत्ताका लागि काठमाडौं केन्द्रित भए तर एमाले चुनाव लगत्तै जनतासँग रुझ्न भिज्न गाउँतिर फर्कियो। २०७९ साल फागुन देखि बैशाखसम्म मिसन ग्रासरुट अभियान मार्फत एमाले आम जनतासँग जोडियो । गठबन्धनसँग एक्लै चुनाव भिडेपनि समानुपातिक तर्फ पहिलो र प्रत्यक्षमा काँग्रेस भन्दा केही सिटमात्र कमी ल्याएर ४१ ठाउँ एमालेले जितेको थियो। तर एमालेको एकल बहुमतको आशा गरेका कार्यकर्ता यो नतिजाबाट केही निराश भएका थिए । त्यो निराशालाई चिरेर पार्टीप्रति आशाको सञ्चार गराउन एमालेले मिसन ग्रासरुट सञ्चालन गरेको थियो। यो अभियानमा सबै केन्द्रीय पदाधिकारी र सदस्य,प्रदेशका पदाधिकारी र सदस्य,जिल्ला,पालिका तहका सबै सदस्यहरु आफूले राजनीति गरिरहेको भूगोल भन्दा फरक भूगोलमा गएर जनतासँग अन्तरक्रिया गर्दै पार्टी काम गरे । तीन महिना सञ्चालन भएको यो कार्यक्रमले एमालेको ठूलो पंक्तिलाई निरशा भएर पलायन हुनबाट रोकेको स्थानीय नेता कार्यकर्ताहरु बताउछन्।

२०८० वैशाखमा भएको केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुटको समिक्षा सहित ‘मिसन ०८४’ को अर्को अभियान घोषणा भयो । नेकपा एमालेका अध्यक्ष,महासचिव र दुई उपमहासचिव बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई जिल्ला परिवर्तन गरेर भूगोलको जिम्मेवारीमा खटाइयो । नयाँ जिम्मेवारी,नयाँ कार्यकर्ता,नयाँ समुदायमा काम गर्दा नेता कार्यकर्ता सबैलाई उत्साह हुने,जिल्ला भित्रको गुटबन्दीबाट पार्टी मुक्त हुने,संगठन बलियो हुने र आगामी २०८४ सालमा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने एमालेको योजनालाई साकार पार्न यो अभियान जारी छ।


मिसन ०८४ कै एक अंगको रुपमा मध्यपहाडी यात्रालाई लिन सकिने एमालेका उपहासचिव प्रदिप ज्ञवाली बताउनुहुन्छ। ‘मुर्झाएको मध्यपहाड एमालेको शसक्त उपस्थितीले उद्ध्ेलित हुनेछ,कुनै कालखण्डमा बाटो बिराएर अरुतिर लागेका नेता कार्यकर्ता मुल घरमै फर्किनेछन् ’ज्ञवाली भन्नुहुन्छ, ‘मध्यपहाडको यात्रा पछि एमाले र मध्यपहाडबासीको सम्बन्ध धेरै सुमधुर हुनेछ। ’