अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले हिड्ने बाटो: समृद्धिको मूलमार्ग

नेकपा एमाले हिड्ने बाटो: समृद्धिको मूलमार्ग


मध्यपहाडी मन्थन-२


नेपालको मध्यपहाडको विकट भूगोलमा बसोबास गर्ने जनतालाई राजधानी सहरसँग सहज पहुँच पुर्‍याउनका लागि मध्यपहाडी राजमार्गको अवधारणा अघि सारेको पाइन्छ। नेपालमा उत्तर दक्षिण सडकको मात्र अवधारणा अनुसार त्यसै अनुसारका सडकको निर्माण भइरहेको अवस्था लामो दुरीको पूर्वपश्चिम सडक निर्माण गर्ने सोच तत्कालीन सरकारले बनाएको हो।

मुलुक माओवादी युद्धको चरम चपेटामा परेका बेला यो सडकको अवधारणा विकास भएको हो। संयोग पनि यस्तो छ कि युद्धको चपेटमा सबैभन्दा बढी मार यही मध्यपहाडले खेपेको थियो। शायद त्यसबेलाको सरकारले माओवादीको प्रभावलाई कम गर्न, जनतालाई सरकारप्रति सकारात्मक बनाउन यो सडकको अवधारणा ल्याएको थियो कि !

भौतिक तथा यातायात मन्त्रालयका अनुसार राष्ट्रिय यातायात नीति-२०५८ मा पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा मध्यपहाड हुँदै पूर्वदेखि पश्चिसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो। सोही नीति बमोजिम सरकारले आर्थिक वर्ष २०६४/०६५बाट यो आयोजनाको कार्यान्वयन सुरू गरेको हो। सुरूमा मध्यपहाडी राजमार्ग नामाकारण गरिए पनि २०६६ सालमा अर्थमन्त्री सुरेन्द्र पाण्डे भएका बेला नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाममा नामाकरण गरिएको हो।

सडक निर्माण सुरू हुँदा २५ जिल्लालाई जोड्ने भनिएकोमा राज्य पुनर्सरचनाका क्रममा रुकुमलाई दुईवटा जिल्लामा विभाजन गरिएपछि पुष्पलाल राजमार्गले छुने जिल्लाको संख्या २६ वटा पुगेको छ। राजमार्गले २६ वटा जिल्लाका २५७ वटा बस्तीलाई जोड्ने यस राजमार्गले १ करोड जनताले सुविधा पाउने अपेक्षा गरिएको छ।

राजमार्गको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०६७/६८ देखि दुई खण्डमा विभाजन गरेर काम सुरू गरिएको हो। जसमा मध्यपहाडीको पूर्वी खण्डमा करिब ७२१ किलोमिटर र पश्चिम खण्डमा १ हजार १ सय ५८ किलोमिटर रहेको छ। दुईवटा कार्यालयले मात्र तिव्र गतिमा काम गर्न नसक्ने देखिएपछि आर्थिक वर्ष नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि आर्थिक वर्ष २०७५/०७६ मा पुष्पलाल राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तरगत पाँचवटा योजना कार्यलयहरु स्थापना गरिएका छन्। सचिव शर्माले दिएको जानकारी अनुसार पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखबाट यो राजमार्गको निर्माण कार्य भइरहेको छ।

‘पसिना झार्दै तररर…’ अब इतिहास
सरकारले आर्थिक वर्ष २०६९/०७० देखि यो राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ काम अघि बढाइरहेको छ। मध्यपहाडीको प्रस्थान विन्दु चिवाभञ्ज्याङ् पाँचथरको जिल्लाको याङवारक गाउँपालिका वडा-१ मा पर्दछ। गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याका अनुसार मध्पयहाडी राजमार्ग खुलेपछि पहाडी बस्तीहरुमा गुल्जार आएको छ। ‘हामी पाँचथरका बासिन्दालाई कुनै काम विशेषले धनकुटा जानुपर्यो भने झापा इटहरी, धरान हुँदै एक फन्को लगाएर लगाउनुपर्दथ्यो ’योङ्या भन्नुहुन्छ, ‘मध्यपहाडी बाटो खुलेपछि हाम्रै पालिकाबाट सिधै आठराई चुहानडाँडा, बसन्तपुर हुँदै धनकुटा पुगिन्छ। हामीलाई धेरै कुरा सहज भएको छ।’

याङवारक गाउँपालिकाका छ वटा वडाहरुमध्ये छ वटै वडाको बीचबाट मध्यपहाडी राजमार्ग निर्माण भएको छ। ‘हामीले नसोचेको विकास कहाँबाट आयो आयो नि’ अध्यक्ष योङ्या भन्नुहुन्छ, ‘मध्यपहाडी राजमार्ग बनेपछि हाम्रो पिठ्यूबाट ढाकर हट्यो, तालुबाट नाम्लो हट्यो। बजारे सामानहरु सस्ता भए। कृषी उत्पादनले बजार पायो । त्यसैले मध्यपहाडी सडकलाई म त समृद्धिको मुलमार्ग भन्छु।’ अध्यक्ष योङ्या संघीय सरकारले जतिसक्दो चाँडो मध्यपहाडी राजमार्गलाई कालोपत्रे गरेर यस भेगका बासिन्दाको जनजीवन सहज बनाइदिनु पर्ने माग गर्नुहुन्छ।

मध्यपहाडी सडकले आफूहरुलाई प्रदेश र संघीय राजधानीसँग छोटो दुरीमा जोडेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी पूर्व उपमेयर बिणादेवी राईको भनाइ छ। ‘मध्यपहाडी राजमार्ग अन्तरगत सुनकोशीको जयरामघाटमा पुल निर्माण भएपछि हामीलाई घुर्मी हुँदै उदयपुरको गाइघाट निस्किएर कोशी प्रदेशको राजधानी विराटनगर पुग्न पनि सहज भएको छ ’ राई भन्नुहुन्छ, ‘घुर्मी हुँदै सुनकोशी तिरैतिरै सिन्धुलीको खुर्कोटसम्म आएको मध्यपहाडी सडकबाट हामी काठमाडौं पनि सजिलै पुग्ने भएका छौं।’

राईका अनुसार मध्यपहाडी नहुँदाको भुक्तमान ओखलढुंगा र खोटाङका जनताले धेरै भोगेका छन् । ७/८ वर्ष अघिसम्म उदयपुरको गाईघाट र कटारीबाट ढाकरमा नुन बोकेर लैजानु पर्दथ्यो।

शायद यही भुक्तमानलाई जनवादी गायक जेवि टुहुरेले गीतको भाका गाएका होलान् ‘ढाकरै बोकी,टेकोमा टेकी ठ्याक्कै ठ्याक्कै, ठ्याक्कै ठ्याक्कै ओखलढुंगा रुम्जाटार देखि ठ्याक्कै ठ्याक्कै, ठ्याक्कै ठ्याक्कै पसिना झार्दै तरर चार दिनको बाटो कटारी बजार…।’

सगरमाथा पहाडका बासिन्दाले आफ्नो दुःख पिडा दर्शाउने यो गीत अहिले पनि गाउने गर्दछन्। तर अहिले समय बदलिएको छ। मध्यपहाडी सडकले घुर्मी बजारबाट केही घण्टा मोटरमा सरररर…. गुडेपछि कटारी पुगिन्छ। चार दिन लाग्दैन। अनि अहिले ढाकर तोक्मा बोकेर तरतरी पसिना झार्नु पनि दिनपनि यो क्षेत्रबाट विाद भएको छ।

मध्यपहाडी राजमार्ग खुलेपछि भएपछि यस भेगका जनताले षडिएका चामल किनेर खानुपर्ने बाध्यता मात्र हटेको छैन, गाउँमै ताजा चामल, नुन, तेल जस्ता खाद्यपदार्थ पुगेका छन् । त्यति मात्र होइन गाउँका कृषीजन्य उत्पादनको विक्री पनि सहज भएको छ । खोटाङका खसी, आँप, केरा, लिची, दूध आदिले बजार पाएका छन् । ‘मध्यपहाडी राजमार्ग नुहँदा म बुइपास्थित मेरो घरबाट हिडेर सुनकोशीको झोलुङ्गे पुल तरेर रसुवा भडारेघाट हुँदै गाइघाट निस्किन्थें’ राई भन्नुहुन्छ, ‘गाईघाटसम्म आउन तीनदिनको पैदल त्यसपछि एकदिन गाडी चढेर काठमाडौं आइपुग्थ्यौं । अहिले हामी ६/७ घण्टामा काठमाडौं आइपुग्छौं ।’ खोटाङेलाई जस्तै भोजपुर,ओखढुंगाका बासिन्दालाइ पनि मध्यपहाडी राजमार्गले नयाँ जीवन दिएको राईको भनाइ छ।

१० वर्षको लक्ष्य, २० वर्षमा सकिएला कि ?
मध्यपहाडी राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीका अनुसार १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्ग निर्माणलाई चाँडो सम्पन्न गर्नका लागि पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ। मध्यपहाडी राजमार्ग योजना कार्यालय,फिदिम पाँचथरले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरसम्मको ३ सय ८६ किलोमिटर सडक निर्माणको काम गर्दछ। रामेछाप कार्यालयले खोटाङ, ओखढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक र सिन्धुपलान्चोक जिल्लाको ३ सय ३५ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ। पर्वतको कुश्मामा रहेको कार्यालयले कास्की, पर्वत र बागलुङको २ सय ४५ किलोमिटर सडक निर्माणको काम गर्दछ। दैलेख कार्यालयले रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र वैतडी जिल्लाको ६ सय ५३ किलोमिटर सडकको निर्माण कार्य गरिरहेको छ।

प्रमुख नेपालीका अनुसार मध्यपहाडी राजमार्ग निर्माणका विभिन्न ठाउँमा अझै पनि कामहरु बाँकी नै छन्। जसले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कार्यलयका सबै सम्पर्क कार्यालयहरु लागि परेका छन् । ‘सुरुमा एक दशकमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो राजमार्गको निर्माण अवधी अर्को एक दशक थपिएर दुई दशकमा सम्पन्न गर्ने लक्ष्य रहेको छ, नेपालीले भन्नुभयो, ‘आयोजना निर्माणको सुरुवात आर्थिक वर्ष २०६४/०६५ सालमा भएको हो । त्यती बेला आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । पछि आर्थिक वर्ष ०७९/८०सालसम्म गर्ने लक्ष्य राखिएकोमा फेरी संसोधन गरेर आर्थिक वर्ष ०८४/०८५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।’

निर्माण अवधी लम्बिएसँगै आयोजनाको लागत पनि करिब तीन दोब्बर बढेको छ । सुरुवातमा ३३ अर्व ३६ करोड रुपैंया लागत रहेकोमा हाल ८४ अर्व ३३ करोड रुपैंया अनुमान गरिएको छ।

मध्यपहाडी सडकको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर भए पनि आयोजनाले निर्माण गर्ने सडकको लम्बाई चाँही १ हजार ४ सय १७ किलोमिटर मात्रै रहेको छ। ४ सय ६२ किलोमिटर सडक अन्य आयोजनाबाट निर्माण भएको छ। ‘विभिन्न आयोजना र स्थानीयबासिन्दाहरुले बनाएका सडकलाई मध्यपहाडीमा सामेल गरिएको छ ’ मध्यपहाडी आयोजना प्रमुख नेपालीले भन्नुभयो। नेपालीका अनुसार आयोजनाबाट ९ सय ४० किलोमिटर कालोपत्रे भएको छ भने अन्य निकायबाट ४ सय ६२ किलोमिटर कालोपत्रे भइसकेको छ। यी सबै गरेर १ हजार ४ सय २ किलोमिटर कालोपत्रे भएको छ। बाँकी ४ सय ७७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । मध्यपहाडी राजमार्गमा पर्ने १ सय ३७ वटा पुल मध्ये १ सय २ वटा निर्माण सम्पन्न भइसकेका छन्। बाँकी ३५ वटा कोही निर्माणाधिन त कोही ठेक्का लगाउने प्रक्रियामा छन् ।

यी ठाउँमा अवरोध
भौतिक मन्त्रालयका अनुसार समयमा निर्माणको काम सम्पन्न हुन नसक्नुमा निर्माण स्थलमा केही समस्याहरु देखापरेका छन्। कतिपय ठाउँमा सडकको सिमा नै यकिन नहुनु,यस राजमार्गको आसपासमा पर्ने कतिपय जलाशाययुक्त आयोजनाको प्रभाव,कतिपय ठाउँमा मुअब्जा र क्षतिपूर्तीको विवाद र कतिपय ठाउँमा रुख कटानका लागि बन मन्त्रालयले स्विकृति नदिंदा काम अवरुद्ध भएको छ।

मध्यपहाडी आयोजना कार्यालयले दिएको जानकारी अनुसार जाजरकोटको मनताभीर कटानको काम भइरहेकोले करिब २ सय मिटरको दुरी मध्यपहाडी राजमार्गको ट्रयाक खुल्न बाँकी छ। जाजरकोट र रुकुम जोड्ने भेरी नदीमा सम्झौता अनुसार निर्माण व्यवसायीले काम नगरेका कारण नयाँ ठेक्का लगाइएको छ। यस्तै तेह्रथुमको म्याङलुङबाट संक्रान्ती बजार जाने करिब १५ किलोमिटरको ठेक्का पनि तोडिएको छ । खोटाङको चखेवा सेक्सनमा पनि ठेक्का तोडेको छ। सर्वोच्च अदालतले आयोजना कार्यालयलाई अहिले यथावत अवस्थामा राख्न निर्देशन दिएकोले काम अघि बढ्न नसकेको नेपालीले बताउनुभयो । मध्यपहाड सडक क्षेत्र भित्र पर्ने नुवाकोटको सनापती सामुदायिक बनका केही रुख काट्नु पर्नेमा उपभोक्ता समितीले सडककका कर्मचारीलाई बनमा पस्नै दिएका छैनन् । गोर्खाको बुढी गण्डकी बहुउद्धेश्यिय आयोजना क्षेत्रमा सडक डुबान पर्छ भनेर स्थानीयले अवरोध गरेका छन् । आरुघाट क्षेत्रको करिब १० किलोमिटर सडक निर्माण हुन नसकेकोमा केही समय अघि स्थानीयबासीसँग सम्झौता भएर काम अघि बढ्ने प्रक्रियामा रहेको कार्यलयले जनाएको छ।

अन्य सडकबाट मध्यपहाडीमा मिसाइएका केही सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नती गर्नुपर्ने काम बाँकी छ। जस्तै पाँचथरको गणेशचोक देखि जोरसालसम्मको सडक पाँच मिटरको मात्र छ। यसलाई सात मिटर बनाउनु पर्नेछ। यसैगरी अछामबाट डोटीको दिपायल जाने करिब ७० किलोमिटर सडक ‘सिंगल लेन’को छ । यसलाई ‘डबल लेन’को बनाउने काम बाँकी नै छ।

दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार तल्लो कर्णालीको विकट पहाडलाई मध्यपहाडी लोकमार्गले प्रदेश सदरमुकाम सुर्खेत र संघीय राजधानीसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ‘दैलेखको राकम कर्णाली देखि जाजरकोट र पश्चिम रुकुम यही मध्यपहाडी राजमार्गले जोडिएका हुन्’ बडुवाल भन्नुहुन्छ ‘यदी यो सडक निर्माण हुदैन थियो भने हामीले अझै पिछडिएको अवस्थामा हुनेथियौं । सडकसँगै निर्माण भएका पुलहरुले गर्दा हामीलाई आन्तरिक आवातजावतमा पनि सहज भएको छ।’

बडुवालका अनुसार मध्यपहाडी राजमार्ग निर्माण भइसकेपछि दैलेखबाट जाजरकोट,रुकुम,बागलुङ गोर्खा हुँदै मुग्लिन निस्किएर छोटो दुरीबाट काठमाडौं पुग्न सकिन्छ।
नेपालीका अनुसार सरकारले २ करोडका योजना कार्यन्वयन र मध्यपहाडी राजमार्गको कार्यन्वयन विधी एउटै बनाएको छ । जबसम्म मध्यपहाडीका लागि अलग्गै कार्यविधी बनाएर कार्यान्वयनमा लगिदैन तबसम्म ०८४/०८५ सालसम्ममा पनि निर्माण सम्पन्न गर्न मुस्किल छ।