अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी राजमार्गले हामीलाई राष्ट्रको मूल प्रवाहमा छौं भन्ने अनुभूति भएको छः पदमबहादुर बोहरा

मध्यपहाडी राजमार्गले हामीलाई राष्ट्रको मूल प्रवाहमा छौं भन्ने अनुभूति भएको छः पदमबहादुर बोहरा


मध्यपहाडी मन्थन- ५

नेकपा एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ। मध्यपहाडी लोकमार्गमा अछामको मंगलसेन नगरपालिका पनि पर्छ । मध्यपहाडी लोकमार्ग निमार्णपछि मंगलसेनको मात्र नभइ अछामको जनजीवनमा समेत सकारात्मक परिवर्तन आएको छ। मान्छे आउजाउ देखि बसाँइसराईका रुट र गन्तव्य पनि बदलिएका छन्। अछामबाट धनगढी झर्ने मानिसहरु अहिले मध्यपहाडी लोकमार्ग प्रयोग गरेर सुर्खेत हुँदै नेपालगञ्ज झर्न थालेका छन्। मध्यपहाडी राजमार्गले अछामको जनजीवनमा के फेरबदल भयो, एमालेको मध्यपहाडी यात्राले यस क्षेत्रको विकासमा के कस्ता सहयोग पुग्ला लगायतका विषयमा हामीले मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरासँग कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
मध्यपहाडी सडक बनेपछि अछामको जनजीवनमा के-कस्तो परिवर्तन आयो ?
अछाममा मध्यपहाडी लोकमार्गले अत्यन्तै महत्व राख्दछ। किन भने अछाम यस्तो जिल्ला हो, कुवाभित्रको भ्यागुता जस्तै थियो ४० को दशकभन्दा अगाडी। त्यसपछि मध्यपहाडी राजमार्गले जुन अछामको पिछडिएको क्षेत्र छोएर अगाडि बढेको छ। यसले हामीलाई पूर्वसँग जोडेको छ। कर्णाली प्रदेशसँग जोडेको छ र हाम्रो आवतजावतमा सहज भएको छ। यातायातको सहज पहुँचमा अछामलाई पु¥याएको छ। अछामका हामीलाई पनि राष्ट्रको मूल प्रवाहमा छौ भन्ने महसूस गराएको छ। त्यो भन्दा पहिला हामी खुट्टाले हिँडेर नै बर्दियाको राजापुर, भारतको टनकपुरको बरमदेउबाट पिठिउँमा भारी बोकेर २४/२५ दिनसम्म हामी निरन्तर पैदल हिँड्थ्यौँ। अहिले मध्यपाहाडी लोकमार्गले सहज बनाएको छ। पहिले हामी नेपालमा जाँदा पनि भारतको बाटो भएर जानुपथ्र्यो। पहिला हाम्रो अछामको सदरमुकाम भनेको पाल्पा हो, त्यसपछि दैलेख भयो, डोटी भयो। सडक बनेपछि जनजीवनमा नयाँ उत्साह ल्याएको छ। विकास निमार्णमा हामीलाई सहभागी गराएको छ । यातायातको पहुँचमा पु¥याएको छ। यस कारणले मध्यपहाडी राजमार्ग त हाम्रो लाइफलाई नै हो।

नेकपा एमालेले गर्ने मध्यपहाडी यात्राको प्रभाव चाहिं कस्तो पर्ला ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडी लोकमार्गको पैदल यात्रा गर्ने बिचबिचमा यसले ल्याएका सकारात्मकता र नकारात्मकताको विषयमा जनतासँग प्रत्यक्ष छलफल गर्ने र यसको स्तरोन्नती कसरी गर्दा उपयुक्त हुन्छ भनेर सुझाव सल्लाह लिने अभियान बनेको छ। यो हाम्रा लागि खुशीको कुरा हो। यो प्रत्यक्ष जनसरोकारको विषय हो। असाध्यै महत्वपूर्ण समयमा महत्वपूर्ण काम पार्टीले गर्ने निर्णय गरेको छ । यस अभियानमा हामीले हाम्रै गाउँठाउँमा नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै केन्द्रीय नेताहरूलाई भेट्न पाउने छौं। अछामको यात्रा गर्दा नै उहाँहरूले यहाँको जनजीवनका कष्ट, दुःख-सुख सबै देख्नु हुनेछ। त्यति मात्र होइन स्थानीय बासिन्दाहरूले यहाँका समस्या पनि उहाँहरूलाई सुनाउने छन् । उहाँहरूले यहाँको भूगोल र जनतासँग प्रत्यक्ष संवाद गर्न पाएपछि आगामी दिनमा पार्टीले बनाउने नीतिमा, सरकारले बनाउने नीतिमा, अवसरहरूमा नेकपा एमालेको तर्फबाट अछाम जिल्लाले न्याय पाउँछ भन्ने हाम्रो विश्वास छ।

मध्यपहाडी लोकमार्गले अछामको आर्थिक, सामाजिक जनजीवनमा के प्रभाव पारेको छ ?
हामी २४/२५ दिन पैदल हिँडेर बर्दियाको राजापुर, उता भारतको टनकपुर, बरमदेउ गएर भारी बोक्नुपर्नेको अन्त्य भएको छ। भारतको बाटो भएर काठमाडौँ, पाल्पा जानुपर्ने परिस्थिति थियो त्यसको अन्त्य भएको छ। अहिले आफ्नै देशबाट जान मिल्ने भएको छ । गर्न सक्ने र गर्ने इच्छा शक्ति भएका व्यापारी, उद्यमीहरुलाई सहज भएको छ। यसले सहजता ल्याएको छ भन्ने हामीले महसुस गरेका छौँ ।

यस राजमार्गले मध्पहाडका बासिन्दाको जनजीवनमा उज्यालो छर्छ। आर्थिक गतिविधि बढ्छ। समृद्धि हासिल हुन्छ भन्ने भनाइ छ । निर्माणको अन्तिम चरणमा पुगेको बेला तपाईँका पालिकाबसीले यस्तो महसुस गरेका छन् ?
बाटो नै विकास रहेछ भन्ने कुरा त अहिले महसूस गरेका छौँ। पहिला डोकामा भारी बोक्ने गरेका थियौँ। अहिले नेपालगञ्जबाटै ट्रक बाजुरा अछाम भएर जान लागे। यो मध्यपहाडीकै उपलब्धि हो। त्यसैले मध्यपहाडी राजमार्गले यहाँको जनजीवन सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हामी अलिकति व्यवसायिक रूपमा पछाडि छौं अछामका मान्छे। हामीले भन्न हिँच्कीचाउनु हुँदैन। अहिले मान्छे अछामबाट बसाइँसराइ गरेर बर्दिया र बाँकी कैलालीलगायतका जिल्लामा जाने गरेका छन्। मध्यपहाडीको निमार्णपछि केही न्यूनीकरण गरे जस्तो छ। यसमा अलिकति सरकारले ध्यानदिनुपर्छ र सरकारले ध्यान दियो भने बसाइँसराइको न्यूनीकरण पनि गर्न सकिन्छ र बसाइसरी गरेकालाई पनि पहाडका जिल्लामा आकर्ण गर्न सकिन्छ । पहाडी भूमि भनेको त पुण्य भूमि हो, भगवानको बास छन्। वन छ जल छ पर्यटकीय क्षेत्र छन्। त्यसलाई जोगउन सकियो भने त भोलि नेपालको मुटु र आकषर्णको क्षेत्र भन्ने सम्भावना छ । मध्यपहाडी लोकमार्गले धेरै नै परिवर्तन भएको छ यो भूमि अहिले । यहाँको जनजीवनमा परिवर्तन पनि आएको छ । हामीलाई संघीय सरकारले सेती लोकमार्गको निमार्ण गरिदियो भने त हाम्रो जीवन झनै सुखी हुन्छ।

मध्यपहाडी लोकमार्गले पनि अछामको बसाइँसराइ रोक्न सकेन ?
बसाइँसराइ रोकिएको त छैन। तर रोकिने सम्भावना छ। सरकारले विद्यालय, स्वास्थ्यको स्तरीकरण गर्नुपर्छ। गाउँ–गाउँमा हामीले स्वास्थ्य कार्यालय स्थापना गरेका छौँ। तर त्यहाँ जनशक्तिको अभाव, विद्यालयमा गुणस्तर शिक्षा दिन सकिएको छैन। एउटै नगरपालिकामा दुईवटा बहुमुखी क्याम्पस छन्। प्रत्येक वडामा स्कुल छन्। टोलमा स्कुलहरु छन्। एउटै पालिकामा १०/१२ वटा उच्च शिक्षाका स्कूल छन्। पहिला अछाममा एउटा मात्रै उच्च शिक्षाको स्कूल थियो। अहिले एउटा पालिकामा १०/१२ पनि छन् । यसलाई स्तरिकरण ग¥यो भने हामीले यहाँबाट छोराछोरी नैनीताल, देहरादुन पढाउनकै लागि पठाउनु पर्दैन। यस्तो वातावरण भएको प्राकृतिक स्रोत साधनले सम्पन्न स्वच्छ ठाउँमा असल शिक्षा असल स्वास्थ्य दिन सक्यौं भने हिजो हामी भारतका देहारादुन, नैनीताल गएर अध्ययन ग¥र्यौं, अब त्यहाँका सम्पूर्ण मान्छेहरू यहाँ ल्याएर अध्ययन गराउन सकिने परिस्थित सिर्जना हुँदैछ । त्यसका लागि सरकारले अलिकति ध्यान दिनुप¥यो। यसमा छलफल गर्नुप¥यो । यातायातको पहुँच भयो भने यो सम्भव छ भन्ने कुरा हामीलाई लागेको छ।

मध्यपहाडी राजमार्ग प्रयोग गरेर निर्यात बढाउने तपाईंहरूको केही योजना छ ?
मध्यपहाडी राजमार्ग निर्माण भएको छ । अलिकति अनुगमनको पाटोमा कमजोर छ । मध्यपहाडी राजमार्ग निमार्ण गरेर गएपछि ठेकेदार फेरि फर्किएको छैन । केही ठाउँमा भत्किएको, केही ठाउँमा बिग्रिएको छ । त्यसलाई पुनमर्मत ग¥यो भने यताबाट त मान्छे कैलाली घुमेर पूर्व जाँदैन । अब मध्यपहाडी भएर नै पूर्व जाने हो। त्यसो भएको हुनाले मध्यपहाडीलाई सरकारले स्तरिकरण गर्ने बिग्रेको भत्केको ठाउँमा निमार्ण गर्ने दायाँ–बायाँ वृक्षारोपण गर्ने त्यसो ग¥यो भने यो असाध्यै महत्वपूर्ण र आकर्षक हुन्छ। आन्तरिक र बाह्य पर्यटकहरु पनि आउँछन् । यहाँ खप्तड छ, बैजनाथ क्षेत्र, रामारोसन छ । मालिका, बुढीनन्दालगायत धेरै पर्यटकीय र धार्मिक स्थलहरू छन्। हामीले यिनको प्रचार–प्रसार गर्न सकेका छैनौँ।

मध्यपहाडी लोकमार्गबाट यस्ता क्षेत्रलाई प्रचार गर्न सकियो भने भारतका उत्तर प्रदेश, बिहारका मान्छेहरू हाम्रा यी क्षेत्रको भ्रमण गर्न मध्यपहाडी राजमार्गको प्रयोग गरेर पुग्ने सम्भावना देखिन्छ। त्यहाँ व्यवसाय बढ्छ। त्यहाँका स्थानीय मान्छेमा पहाडमा केही हुँदैन भनेर निराशा आएको छ, पहाडमा केही पनि हुँदैन यहाँ यस्तै हो भन्ने मनमा संकुचन पैदा भएको छ। यहाँहरूमा अब हामीले केही गर्नुपर्छ भन्ने बनाउनु पर्छ । कैलाश खोला, बूढीगंगा खोला जस्तो उर्वर भूमि एउटा माना छरेपछि एउटा मुरी धान फल्ने क्षेत्रहरू छन्। ती क्षेत्र अहिले बाँझा छन्। किनभने यहाँ केही पनि हुँदैन। बिरामी भएपछि औषधी हुँदैन, बिराम भएपछि नेपालगञ्ज जानुपर्छ, काठमाडौँ, भारतका गल्लीमा जानुपर्छ भन्ने मान्छेमा एक किसिमको निरासा छ। यहाँका वयलगडा अस्पताल, मंगलसेन अस्पताल, अन्य जिल्लाका अस्पताल छन्। गाउँमा उद्घाटन भएका स्वास्थ्य चौकी छन्। यहाँ डाक्टरहरु पठाउन सकियो भने मान्छे बस्न चाहन्छन्। जेठको महिना चिसो पानी, पुसका महिना तातो घाम हुन्छ। दुःखको कुरा यस्तो राम्रो ठाउँमा मान्छे बस्न चाहँदैन। किनभने यहाँ हाम्रा आवश्यकता पूर्ती हुँदैन। शिक्षा स्वास्थ्य क्षेत्रमा हामी कमजोर भएका कारणले मान्छेहरुको आकर्षण बढ्न सकेको छैन।

मध्यपाहाडी राजमार्ग लगायतका धनगढी-डढेल्धुरा, डोटी-अछाम, अर्को कैलालीबाट मानसरोवर जाने सेती लोकमार्ग छ। यी सबै सडक निर्माण भए भने यहाँका उत्पादन हुने बस्तुको सहज निर्यात र बजार पाउनेछन्।