अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झुलाघाटमा मोटरेवल पुल बनेपछि मध्यपहाडी राजमार्ग अन्तर्राष्ट्रिय राजमार्ग बन्छ

झुलाघाटमा मोटरेवल पुल बनेपछि मध्यपहाडी राजमार्ग अन्तर्राष्ट्रिय राजमार्ग बन्छ


मध्यपहाडी मन्थन-९

नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको यात्रा सुरू गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरू गर्नुहुनेछ। यो अभियान १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिने छ। मध्यपहाडी लोकमार्ग निर्माणपछि बैतडीको जनजीवनमा परिवर्तन आएको छ। पहाडी जिल्ला, त्यसमाथि सुदूरको पनि दूरमा रहेको जिल्ला राष्ट्रिय राजमार्गमा जोडिएपछि त्यहाँका बासिन्दा सडक पहुँचमा पुगेका छन्। यस्तै भारतसँग सीमा जोडिएको झुलाघाटमा मोटर पुल निर्माण भयो भने बैतडीको विकासमा ठुलो टेवा पुग्ने जनप्रतिनिधिले बताएका छन् । एमालेले गर्न लागेको मध्यपहाडी लोकमार्ग यात्रा र सो लोकमार्गले बैतडीको जनजीवनमा पारेको प्रभावबारे एमाले नेता तथा प्रतिनिधिसभाका सांसद दामोदर भण्डारीसँग गरिएको कुराकानीः

एमालेले मध्यपहाडी लोकमार्ग यात्रा किन गर्न लागेको हो ?

मूल मध्यपहाडी लोकमार्ग पार्टीको संस्थापक पुष्पलालको नामबाट नामकरण गरेर एमालेको सरकार बनेपछि यसलाई बैतडीको झुलाघाटबाट पूर्वको चिवाभञ्याङसम्म जाने लोकमार्गलाई मध्यपहाडी लोकमार्ग भनिएको छ। मध्यपहाडी लोकमार्गमा २६ वटा जिल्ला पर्छन्। पछिल्लो जनगणनाले के देखाएको छ भने पहाडको बस्तीहरू क्रमशः घट्दै गएको छ। तराइमा बसोबास गर्नेको संख्या वृद्धि भइरहेको छ। यो विकासमा एउटा असन्तुलन हो। यो असन्तुलनलाई चिर्नको लागि पार्टीले मध्यपहाडी लोकमार्ग अभियानलाई जागरणको रूपमा सञ्चालन गर्न लागिरहेको छ। यसले विकासको सन्तुलनलाई न्यूनीकरण गर्ने र पहाडलाई विकासको मूल प्रवाहमा सामेल गर्ने यसको मुख्य लक्ष्य हो। आर्थिक रूपमा मूलधारमा जोड्नका लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने हामीलाई लागेको छ। यो अन्तर्गतका १० वटा सहर पहिले उल्लेख गरिएको थियो।

तस्वीरःगिरिराज बाँस्कोटा

मध्यपहाडी लोकमार्ग अन्तर्गतका विभिन्न केन्द्रमा गरी १० वटा स्थानहरू लोकेट गरिएको थियो। एमालेको अवधारणले यो बसोबासलाई कायम गर्ने, यहाँ राज्यका सेवा सुविधा प्रदान गर्ने गरी गरिएको कार्यक्रम फितलो भन्दै गयो। अहिले १० वटाको ठाउँमा ४५ वटा सहर बनेका छन्। न्यून बजेट छ। राज्यको स्रोत साधन केन्द्रित भएन । यो अभियानले यसलाई मूर्तरूप दिन्छ भन्ने हाम्रो विश्वास हो।

जनजीवनलाई कायम गर्दै राज्यबाट प्राप्त हुने सेवा सौलियत यो राजमार्ग केन्द्रित गरेर यहाँको जनजीवनलाई व्यवस्थित गर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा रहेका सम्भावनाहरुलाई उजागर गर्नेगरी यो अभियान प्रारम्भ हुँदैछ।

मध्यपहाडी सडक बनेपछि बैतडीको जनजीवनमा के कस्तो परिवर्तन आयो ?
बैतडीको जनजीवनमा यसले खासगरी मध्यपहाडी लोकमार्ग सुरुवात झुलाघाटमा गर्दै छौं, त्यो सीमावर्ती क्षेत्र हो। पारी भारत छ। भारत र हाम्रो कनेक्टिभिटी। अझै मोटरेवल बल पुल पुगेको छैन। अंग्रेजको पालामा एउटा झोलुङ्गे पुल बनेको छ। त्यसले अहिलेको आवागमन, कनेक्टिभिटीलाई, विकास पूर्वाधारलाई जसरी त्यहाँ मोटर पुल हुँदा खासगरी मध्य पहाडीसँग जोडिएका सात वटा जिल्लालाई त्यसले व्यापार, पारवहन, आर्थिक उपार्जन, हाम्रो उत्पादन वस्तुहरुलाई सहज रूपमा भारत जाने आदिमा सहज हुन्छ। झुलाघाटबाट ६ घण्टामा भारतको दिल्ली पुगिन्छ। यो कनेक्टिभिटीलाई विस्तार गर्ने कुरा मोटर पुल बनाउन सकियो भने बैतडी मात्रै होइन डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी लगायतका जिल्लाहरुलाई यसले आर्थिक रूपमा सफल बनाउँछ। व्यवसायीक, व्यापारिक हिसाबले पनि यसको महत्त्व बढेर जान्छ।

झुलाघाटमा पक्की पुल निर्माण हुन सकेको रहेनछ। तपाईंहरूले यसमा केही पहल गर्नुभएको छ ?
पटक-पटक हामीले सरकारको तर्फबाट हाम्रै पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा कञ्चनपुरदेखि दार्चुलासम्म बीचमा डडेल्धुरा, बैतडी गरेर आठवटा झोलुङ्गे पुल र मोटर पुलको भारतसँग सहमति भएको थियो। त्यसअन्तर्गत कञ्चनपुरमा बनिसकेको छ, मोटर पुल नेपाल सरकारले बनाएको छ। दार्चुलामा झोलुङ्गे पुलहरु बनेका छन्। बैतडीका दुई वटा र एउटा डडेल्धुरा गरी आठवटा पुल पनि बनाउनुपर्छ भनी पटक-पटक म यहाँको जनप्रतिनिधि हिसाबले पनि सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गराएको छु। जिल्लाका विभिन्न राजनीतिक दलहरु, व्यवसायीहरु, निर्माण व्यवसायी, उद्योग वाणिज्य संघ, आमजनताको माग पनि थियो। यसलाई शिर्ष नेतृत्वबाट बनाउन आवश्यक छ भनेर कुरा अगाडि बढेको छ। यो अभियानले त्यसलाई पनि बल पुग्छ र मोटर पुल निर्माण गर्ने क्रममा भारत सहमत भएको छ। सायद यसको भारतको केन्द्रीय सरकारबाट नै निमार्ण गर्ने कुरा अगाडि बढेको छ। यसमा भारतसँग हाम्रो नेतृत्वबाट पटकपटक छलफल भएको छ । यसलाई मूर्तरुपमा सुनिश्चितता गर्नुपर्छ। यो अभियानले यसको सार्थकर्तालाई पुष्टि गर्छ भन्ने विश्वास छ।

यस राजमार्गले मध्पहाडका बासिन्दाको जनजीवनमा उज्यालो छर्छ। आर्थिक गतिविधि बढ्छ। समृद्धि हासिल हुन्छ भन्ने भनाइ छ। निर्माणको अन्तिम चरणमा पुगेको बेला बैतडीबासीले यस्तो महसुस गरेका छन् ?

वास्तवमा हाम्रो राजमार्ग यही रार्जमार्ग हो। यसलाई अझ विस्तार गर्ने, अझ भरपर्दो बनाउने, अझ यातायातको जोखिम छन्। यसलाई भरपर्दो मार्गको रूपमा विकास गर्नुपर्ने कुरा राज्यको दायित्व हो। त्यो कुरामा केन्द्रित गर्छौ। मैले अगाडि पनि भने भारतसँगको मोटर पुल बन्यो भने यसको सार्थकता, सान्दर्भिकता हुन्छ। यसले यहाँको जनजीवनमा राम्रो फड्को मार्छ ।

मध्यपहाडी राजमार्ग निर्माण भएपछि तपाईंले महसुस गरेका परिवर्तनहरु के-के हुन् ?

मध्यपहाडी लोकमार्ग बनेपछि राज्यको मुल प्रवाहमा बैतडी जिल्ला जोडियो। जिल्लाका योसँग जोडिएका शाखा सडक निर्माण भए। विकासको मेरुदण्डको रूपमा यसलाई लिन सकिन्छ।

मध्यपहाडी राजमार्ग प्रयोग गरेर निर्यात बढाउने तपाईंहरुको केही योजना छ ?

यहाँ जडिबुडी, खानि, सिमेन्ट उद्योग सञ्चालन गर्ने, फलाम खानिहरूको सम्भावना प्रचुर छ। मोटरेवल पुल बन्न सक्यो भने बैतडी मात्रै होइन सुदूरपश्चिमका पाडी जिल्लाहरुलाई विकासमा योगदान पुर्याउछ। बैतडीका जे-जे नियौत गर्नुपर्ने हाम्रा सम्भावना छन्। त्यो सम्भावनालाई यसले बल पुर्याउछ भन्ने कुरा हो।

मध्यपहाडी लोकमार्गले बैतडीको पर्यटनमा सम्भावना के छ ?
पर्यटनको पनि प्रचुर सम्भावना छ । हामीसँग एसियाकै सबैभन्दा गहिरो गुफा भएको पाताल भुमेश्वर, त्रिपुरासुन्दरी, निङ्नासैनि, मेलौली भगवती लगायत अन्य थुप्रै यस्ता धार्मिक, पर्यटकीय क्षेत्रहरु छन्। यहाँ सम्भावना धेरै छन्। सबै पर्यटकको पर्खाइमा छन्। भारतको मोटर पुल बन्न सक्यो भने सबैभन्दा बढी लाभ बैतडीमा हुनेछ। विकासमा चाँडै फट्को मार्नेछ ।

मध्यपहाडी लोकमार्ग निर्माण भएपछि बैतडीमा बसाइसराइको अवस्था के छ ?
ग्रामीण क्षेत्रमा बसाँइसराइ अहिले पनि छ। ग्रामीण क्षेत्रका किसानहरुले गरेको खेती बाँदर र बँदेलले सक्याउने, गोठमा भएको पशुहरु संक्रमित छन्। तर राज्यले केही दिएको छैन। त्यसैले कृषिमा जसरी केन्द्रित हुनुपर्ने थियो, व्यवसायीकरण गर्नुपर्ने, आधुनिकीकरण गर्नुपर्ने थियो यो भएन। यी विषय भयो भने किसानहरुलाई उत्साहित गर्न सकिन्छ। मल बिउ पानी अनुदान दिन सकियो भने सुदूरपश्चिममा प्रचुर सम्भावना देख्छौँ।

मध्यपहाडीको निर्माणले बैतडीको आर्थिक र सामाजिक परिवर्तन भयो ?
त्यो त स्वभाविक छ। राष्ट्रिय राजमार्गसँग जोडिने जिल्लाका भूगोल जोडिने कुरा त समृद्धिको आधार त्यही हो। त्यसैले यो सम्भावना कमजोर छ भन्ने होइन। यसलाई अझ जुनरुपमा हामीले विकास खोजेका छौ, समृद्धि खोजेका छौ। उत्पादन खोजेका छौ, रोजगारी खोजेका छौ, यहाँका स्रोत साधनको उपयोग गर्ने कुरामा अझ यो कुरालाई म जोड दिएर फेरि भन्छु त्यही मोटरेवल पुल बन्नुपर्छ।