काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने नेता, कर्मचारी र व्यावसायीलाई कारबाही गर्दा दबाब आउने बताउनु भएको छ।
पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमिका मान्छे पक्राउ परे भने राजनीतिक पार्टीका मान्छे कराउन थाल्छन्, यो त हाम्रो नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो ।’
अपराधमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्वयसायीलाई कारबाही गर्दा पनि दबाब आएको उहाँले बताउनु भयो ।
‘यो देशका कर्मचारीले गल्ती गरेर कारबाही गर्न थाल्यो भने कर्मचारी कराउन थाल्छ, कर्मचारीलाई त्यसो गर्न भएन नि भनेर कर्मचारी संगठन आउँछ’, उहाँले भन्नुभयो, ‘गल्ती अपराध गर्ने व्यवसायीलाई कारबाही थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ।’
निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उहाँको भनाइ छ।
बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन्।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ। उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन्। हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न।’






प्रतिक्रिया