काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताएका छन्।
अध्यक्ष ओलीले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक ईभी गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने केही यात्रु घाइते भएका छन्।




प्रतिक्रिया