अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीमफेदी माइक्रोबस दुर्घटना: मृतक र घाइते सबै सर्लाहीको एउटै वडाका

भीमफेदी माइक्रोबस दुर्घटना: मृतक र घाइते सबै सर्लाहीको एउटै वडाका


मकवानपुर-मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी मृत्यु भएका १० जना र घाइते भएका ६ जना सबै सर्लाहीको एउटै वडाका बासिन्दा रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परेका सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का स्थानीय हुन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा पाँच महिला र पाँच पुरुष छन्। मृतकमध्ये चालक सर्लाहीको कविलास गाउँपालिकाका रवि शंकर कुमार मण्डलको मात्र पहिचान खुलेको मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएका सबै छ जनाको पहिचान खुलेको छ। उनीहरूमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय रहेका छन्।

दुर्घटनामा परेका सबै चक्रघट्टा गाउँपालिका–४ का बासिन्दा रहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनासम्बन्धी थप जानकारी लिन वा सूचना दिन मकवानपुर र सर्लाहीका प्रहरी कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।