२०७७ सालको कुरा हो। म राधिका आमालाई भेट्न बालुवाटार गएको थिएँ। त्यो दिन मैले देखेको एउटा दृश्य आजसम्म मेरो स्मृतिमा ताजै छ। राधिका आमालाई म बालुवाटार पुगेको जानकारी दिए आमाले मलाई माथि बोलाउनुभयो। म भान्सामा पुगेँ। राधिका आमा भाँडा माझिरहनुभएको थियो। मैले नमस्कार गरेँ। उहाँले नमस्कार फर्काउँदै बस्न भन्नुभयो। म बसेँ, तर मेरो मनमा प्रश्नहरूको ओइरो लाग्न थाल्यो। सामान्यतया सत्तामा पुगेका मानिसहरु सत्ताउन्मादले आजसम्म आफ्नै हातले भाँडा माझ्ने गरेको देखेको छैन। नया र युवा भनिएका प्रधानमन्त्री बालेनको श्रीमतीले खुट्टा मालिस गराउदै गरेको रील पनि भाइरल भइरहेको थियो जुन आलोचनाको बिषय पनि बन्यो तर देशको प्रधानमन्त्रीको श्रीमती, राष्ट्र बैंककी प्रथम श्रेणीकी अधिकृत रहिसक्नुभएकी राधिका आमा आफैँ भाँडा माझिरहनुभएको थियो। मनमा प्रश्न उठ्यो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भाँडा माझ्ने मानिस नभएर हो कि उहाँ आफैँ गर्न चाहनुहुन्छ? हाम्रो समाजमा सामान्यतय सचिव, डीएसपी र एसएसपी आइजीपी, जर्नेल कर्नेल आर्मी चीफ सम्मका कतिपय कर्मचारीले घरमा खाना पकाउन भान्से राखेको सुनिन्छ। कतिपयको घरमा जाँदा त्यस्तो व्यवस्था देखिन्छ पनि। तर देशको प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्रीकी श्रीमती आफैँ भाँडा माझिरहेको दृश्य मेरा लागि अनपेक्षित थियो।
आमाले केहि भाँडा माझिसकेपछि चिया बनाउनुभयो। म चिया पिउँदै थिएँ। त्यही बेला तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी आइपुग्नुभयो। उहाँले नमस्कार गर्दै भन्नुभयो, “यो त भएन, खाना आफैँ पकाउनुस् बरु भाँडा माझ्ने त कोही मान्छे राख्नुस्।” राधिका आमा हाँस्दै भन्नुभयो, “जुन दिनसम्म मेरा हातखुट्टाले साथ दिन्छन्, त्यतिन्जेलसम्म म आफैँ गर्छु।” त्यो संवादले मलाई गहिरोसँग छोयो। भड्किलो भइरहेको यो समाजमा भाँडा माझ्ने मानिस राख्न सक्ने हैसियत भएकी व्यक्तिले आफ्नै हातले काम गरिरहनुभएको थियो। मुख्यसचिव तलतिर झर्नुभयो। आमाले मलाई केही बेर बस्दै गर्न भन्नुभयो। भाँडा माझिसकेपछि उहाँ बाथरुम सफा गर्न थाल्नुभयो। म अचम्ममा परेँ। सोधेँ, “आमा, यो त प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार होइन र? सरकारले पनि यी सबै कामको व्यवस्थापन गर्नुपर्ने होइन र ?” उहाँले भन्नुभयो, हो, हुन त। अरूका लागि तल छुट्टै भान्सा रहेको र उनीहरूले त्यहीँ आफ्नो व्यवस्था गर्ने गरेको बताउनुभयो। तर केपी सरको स्वास्थ्यलाई ध्यानमा राखेर उहाँले केपी सर र आफ्ना लागि तथा केही पाहुनाका लागि आफैँ खाना पकाउने गरेको बताउनुभयो। बाथरुम सफा गरिसकेपछि आमाले केही कपडा धुन बाँकी रहेको कुरा गर्नुभयो। मैले फेरि सोधेँ, “आमा, तल लन्ड्री रुम छ नि, त्यतै पठाए हुन्न?” उहाँले भन्नुभयो, तलमाथि गर्न सक्दिनँ, अरूलाई जिम्मा लगाउन पनि मनले मान्दैन। मैले भनेँ, तपाईं त प्रथम महिला पनि हो नि आमा, कसै न कसैमाथि विश्वास त गर्नुपर्ला नि! उहाँले केपी सरको स्वास्थ्य र उहाँको राष्ट्रवादी राजनीतिक अडानका कारण हुन सक्ने खतराबारे आफू जानकार रहेको बताउनुभयो। उसैमाथी कोभिडको समय छ त्यसैले स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित काम आफैँ गर्न मन लाग्ने उहाँको भनाइ थियो। उहाँले आफ्नो स्वभावबारे पनि भन्नुभयो, “म बालकोट भए पनि बालुवाटार भए पनि यस्तै हो। मसँग त्यस प्रकारको सत्ताको उन्माद छैन।” आमाले फलफूल काटेर प्लेटमा राखिदिनुभयो र मलाई खाँदै गर्न भन्नुभयो। त्यसपछि कपडा वासिङ मेसिनमा राख्न जानुभयो। मैले कपडा सुकाउने डोरी देखिनँ। बाहिर बार्दलीमा स्ट्यान्ड राखेर कपडा सुकाउनुभएको थियो। मैले डोरी राखेको भए हुन्थ्यो नि आमा भनेँ। उहाँले प्रधानमन्त्री निवासको स्वरूप बिग्रिन्छ कि भनेर त्यसो गरेको बताउनुभयो। मैले देखेको कुरा त्यही दिनको वास्तविक दृश्य र संवाद थियो, जसले मेरो मनमा उहाँको सरल व्यवहारप्रति सम्मान जगाएको थियो। उहाँलाइ कुनै तडकभडक मन पनि पर्दैन अनि अरुको श्रीमतिले जस्तो श्रीमानलाइ प्रभावित पारेको वा कतै सटिङ्ग गर्ने गरेको पनि कतै कसैले कहिलै सुन्नु परेन।

हाम्रो समाजमा राजनीतिक नेतृत्व र शक्तिको प्रयोगबारे धेरै चर्चा हुन्छ। पूर्वप्रधानमन्त्री प्रचण्डको घरमा समेत सुरक्षाकर्मीलाई उहाँकी श्रीमतीको, छोरीको स्याहारसुसारदेखि भान्साको काम र सरसफाइसम्ममा लगाउने गरिएको भन्ने चर्चा मैले पनि सुनेको थिएँ। यस्तो विषय सार्वजनिक बहसमा आउँदा राज्यका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी कहाँसम्म हो, राज्यले दिएको सुरक्षा र सुविधा व्यक्तिगत घरायसी कामका लागि प्रयोग हुनु उचित हो कि होइन? भन्ने प्रश्न पनि उठ्ने गरेका थिए । तर यता भने बहालवाला प्रधानमन्त्रिको श्रीमती आफै काम गर्दै हुनुहुन्छ । यति सरल र सादगी जीवन।
राधिका आमासँग कुराकानी हुँदै गर्दा सडकमा मागेर जीवन बिताइरहेका मानिसहरूको प्रसङ्ग पनि उठेको थियो। उहाँले सडकमा माग्न बाध्य भएका मानिसहरूको अभिभावकत्व सरकारले लिनुपर्ने र उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने कुरा केपी सरलाई पनि भन्ने गरेको बताउनुभयो। त्यो कुरा मलाई अर्थपूर्ण लाग्यो। सडकमा मागिरहेको मानिसलाई देखेर उसलाई दोष दिन सजिलो छ। तर ऊ त्यहाँसम्म किन पुग्यो, उसको परिवार कहाँ छ, ऊ बिरामी छ कि छैन, उसले काम गर्न सक्छ कि सक्दैन भन्ने बुझ्न कठिन हुन्छ। राज्यको दायित्व सडक सफा राख्नु मात्र होइन; सडकमा जीवन बिताउन बाध्य नागरिकलाई सम्मानजनक जीवनतर्फ फर्कने अवसर दिनु पनि हो। त्यो पछि व्यवस्थापन पनि भयो । त्यसै क्रममा मुगुबाट बालिकाहरू ल्याएर कीर्तिपुरमा छात्रावासमा राखी पढाउने र अभिभावकत्व प्रदान गर्ने पहलको प्रसङ्ग पनि आएको थियो। झमक घिमिरेजस्ता व्यक्तिको संरक्षण र सहयोग गर्न राधिका आमाले पहल गरेको बिषयमा पनि चर्चा भयो । कुनै पनि देशको वास्तविक विकास ठूला भवन र सडकले मात्र हुँदैन। सबैभन्दा कमजोर नागरिकले सुरक्षित महसुस गर्न पाउँदा पनि हुन्छ। राधिका आमा संग भेट हुदा प्राय संघर्षका कुरा सुनिरहन्छु । चाहे त्योबेला कार्यालयबाट घर जादै गर्दा बाटोमा घरकोलागी रासनको भारी हिड्दै बोकेर लिदै गर्दाको थाकेर घर पुगेको बिसय होस् वा घरमा आएका पाहुनालाई निकै थकित भएपनि मुस्कुरमएर खाना पकाएर खुवाएको र मान्छे धेरै हुँदा सुत्नलाई ठाउ नभएर आफ्नै ओछ्यान कार्यकर्तालाई दियर आफु भुइमा सुतेको कुरा होस् । राधिका आमाले फरक प्रसङ्गमा भन्नु भयो मलाई दुःख लाग्छ, केही व्यक्तिले केपी सरलाई आफ्नो मात्र हो जस्तो व्यवहार गरेर अरू इमानदार जनता र कार्यकर्तालाई चिढ्याउँछन्। उहाँ मेरो श्रीमान् हुनुहुन्छ, सबै अधिकार मसँग हुनुपर्ने, मैले घुर्क्याउन र झगडा गर्न पाउनुपर्ने तर सार्वजनिक नेतृत्वको जिम्मेवारी त्योभन्दा फराकिलो हुन्छ भन्ने म बुज्छु। नेतृत्वलाई निजी घेराभन्दा माथि उठाएर देश र जनतासँग जोड्नुपर्छ। त्यो अरुले पनि बुझिदिए हुन्थ्यो जस्तो लाग्छ । प्राय राधिका आमासँग भेट हुँदा यसैप्रकारका कुरा भइरन्थे युवाहरु वा कार्यकर्ताहरु केपी सरलाइ भेट्न आउदा पनि राष्ट्र बनाउने केहि योजना केहि काम लिएर आइदिए हुन्थ्यो, त्यसै उर्जाशिल समय हाहु गरेर रमाइलो गरेर मात्रै खेर नाफालोस भनेर चिन्ता पनि देखाई रहनु हुन्थ्यो ।
एक दिन केपी शर्मा ओलीसँग राति दुई–तीन बजेसम्मको संवादमा सम्झेकी रचना दिदि
पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कहिलेकाहीँ राति दुई-तीन बजेसम्म एक्लै बस्ने संबाद गर्ने अवसर पनि मिलिरहन्छ । उहाँले कहिले कम्युनिस्ट आन्दोलन, नेपालको इतिहास र विश्व इतिहासका पढाउनुहुन्छ, विचबिचमा अंग्रेजिमा पञ्च हान्नुहुन्छ । कहिले विभिन्न विचारधारा र दर्शनबारे उहाँको व्याख्या सुन्ने, दीक्षित हुने अवसर पाउँथेँ। जेनजी आन्दोलनपछिको एउटा रात मलाई विशेष रूपमा सम्झना छ। राति करिब दस बजेतिर मलाई निद्रा लागिसकेको थियो। मैले भनेँ, “बा, म निस्किन्छु।” उहाँले भन्नुभयो, “म औषधि खाएर आउँछु, भित्र बस्दै गर।” म भित्र बसेँ। पाँच–सात मिनेटपछि उहाँ औषधि खाएर राजेश दाइको छोरालाइ खेलाउदै फर्किनुभयो र ओछ्यानमा बस्नुभयो। साना केटाकेटी देखे खुशी हुने उहाँको स्वभाव छ । भन्नुभयो, “म एउटा कुरा गर्छु।” मैले हुन्छ भनेँ। त्यसपछि उहाँले राति करिब दुई बजेसम्म सत्यवाद, न्यायवाद, मानवतावाद, विकासवाद, समानतावाद, समाजवाद र समतावादलगायत विभिन्न विचारधाराबारे व्याख्या गर्नुभयो। मेरो निद्रा हराइसकेको थियो। म सुनिरहेको थिएँ, सोचिरहेको थिएँ। मरो मनमा रचना खतिवडा दिदि आइपुग्नु भयो, जेनजीका मृतक परिवार सम्झे, रचना खतिवडा दिदि अहिलेसम्म भावुक मात्रै भएर सदनमा आंसु झारिराख्नु भएको छ र ओलीलाई दोषि देखिराख्नु भएको उहाँले आफ्नो मनस्पटलमा ओली दोषीको रुपमा रहेको स्टिकर बनाएर चप्काउनु भएको छ । उहाँलाई फेरी भेटेर सम्झाउन पाए हुन्थ्यो जस्तो लाग्यो । रचना खतिवडा दिदिलाई भन्न मन लाग्यो, दिदि अब ओलीलाई दोषी देख्ने तपाईको दृष्टि परिवर्तन गर्नुपर्ने छ , जस्ले सत्यवाद, न्यायवाद र मानवतावादको कुरा गर्छ, जस्को आफ्नै सन्तान छैन र सबै केटाकेटीलाई आफ्नो सन्तान ठानेर माया गर्नुहुन्छ, भलो चिताउनु हुन्छ, जस्ले आफ्नो सबै सम्पत्ति राष्ट्रको नाममा सुम्पिकेको छ, जस्ले प्रधानमन्त्री भएपनि कुनै प्रकारको तडकभडक छैन , अरुले जस्तै गरि सेवासुविधा लगेको छैन, प्रधानमन्त्री कै श्रीमती राधिका आमा घरबाहिर कतै निस्किनु परे कस्को गाडिमा जानेहोला भनेर दिमाग घुमाउन बाध्य हुनुपर्छ, जसले मुगुबाट असहाय बालबालिका ल्याएर अभिभावकत्व ग्रहण गरेर पढाएकोछ, झमक धिमिरे जस्ता पात्रको संरक्षण गरेकोछ, सडकका माग्नेहरुको अभिभावकत्व लिएर माग्ने मानवमुक्त सडक बनाएको छ त्यस्तो मान्छेलाई तपाईले न भ्रष्टाचारी भन्न सुहाउँछ न त तपाईको छोराको दोषी नै भन्न मिल्छ । त्यो रात उहाँका विचार सुन्दा मेरो मनमा एउटा कुरा आयो कुनै व्यक्तिबारे धारणा बनाउँदा उसलाई सुन्नु पनि आवश्यक छ। जसलाइ प्राकृतिक न्यायको सिद्दान्त पनि भनिन्छ । मनमा लग्यो रचना खतिवडा दिदिलाई फेरी सम्झे, मन मनै भने दिदि तपाइको छोराको हत्याको दोषी तपाइले जसलाई देख्नु भएको छ उहालाइ दोषी देखिन मैले । मनमनै फेरी सम्झे जसले सत्यवाद, न्यायवाद र मानवतावादको बहस गर्छ उसले मनवता बिरुद्दका काम गर्न सक्दैन । जेनजी घटनामा उनिहरुका अनुसार देशकोलागी साहदात प्राप्त गरेको भनिएको बच्चाको आमा आँशुको भेल बगाउदै देशको लागी होइन कुनै अमुख पार्टीको लागि भोट मागेर समानुपातिक कोटाबाट सदनमा पुगेर भावुक भएर पटक पटक आँसु झारिरहेको र केपी ओलीलाई दोषी देखिरहेको दृष्टीदोष देखिन्छ । उहाँको पीडालाई म सामान्य रूपमा लिन सक्दिनँ। सन्तान गुमाउनु एउटी आमाका लागि संसार नै भत्किनु हो। आमाका लागि सन्तान केवल एउटा व्यक्ति होइन; ऊ सपना हो, भविष्य हो, बुढेसकालको सहारा हो, जीवनका अनगिन्ती आशाको केन्द्र हो। त्यही सन्तान फर्केर नआउने बाटोमा गएपछि आमाको संसार बदलिन्छ। त्यसैले रचना दिदीको पीडा बुझ्न उनकै दलको सदस्य हुनु पर्दैन। मैले उहाहरुको पिडा नजिक बाट देखेको छु, महसुस गरेकोछु । तर पीडाको सम्मान गर्नु र घटनाको दोषी निर्धारण गर्नु फरक कुरा हुन् । मेरो मनमा प्रश्न उठ्छ, जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई त्यहाँसम्म कसले पुर्यायो? उनीहरूलाई त्यस परिस्थितिमा जान कसले प्रेरित गर्यो? ड्रेसमा आउन कसले सल्लाह दियो? गोली चलेको भए कसले चलायो? आदेश कसले दिएको थियो? सुरक्षा निकाय र राजनीतिक नेतृत्वको भूमिका के थियो ? यी प्रश्नको जवाफ निष्पक्ष अनुसन्धानबाट आउनुपर्छ। अनुमान / भावुकताका आधारमा कसैलाई दोषी करार गर्नु हुँदैन, तर राजनीतिक पदमा बसेको व्यक्तिलाई अनुसन्धानभन्दा माथि राख्नु पनि हुँदैन। रचना दिदि कोही व्यक्ती आएर तपाईलाई अंगालो हाल्दै तपाईको भावुकताको व्यापार गरेर तपाईको छोराको हत्या गर्ने मतियारहरु नै तपाईकै काखमा रहेर, रगत माथि उभिएर यो राज्यमा रजगज गरिरहेको त छैन, तपाइले पाउनु पर्ने न्याय माथि खेलवाड गरिरहेका त छैनन् ? यस विषयमा तपाई चनाखो बन्न जरुरी छ , प्रतिनिधि सभामा हुनुहुन्छ साचिकै न्याय खोज्नु भएको छ भने एउटा संसदीय समितिबाट पनि छानबिन गराउन पहल गर्न पछी हट्नु हुदैन, आवश्यक परे प्रतिनिधि सभामै अनसन बसेर न्याय खोज्दा पनि सरकारलाई दबाब हुन सक्छ ।

आज यो समाजमा तथ्य आधार कारण प्रमाण केहि चाहिदैन भ्रमको संजाल आगो जस्तै फैलिहल्छ एउटा उदाहरण मेरो सामाजिक सञ्जालमा आउने टिप्पणीहरू हेर्छु कहिलेकाहीँ अचम्म लाग्छ। कसैले मलाई पत्रकार भन्छन्, कसैले बेरोजगार देख्छन्, कसैले माओवादी ठान्छन्, कसैले एमाले भन्छन्। यसैलाइ देखेर अर्कोले फेरी धारणा बनाउछ र तेस्तै प्रतिक्रिया दोहोर्याउन थाल्छ जसले मेरो वास्तविकता नबुझीकन बालुवाको घर जस्तै आफ्नै धारणा बनाउँछन् र दिक्षित पनि भैसक्छन। लाग्छ समाजको यस्तै प्रवृतिको कारण देश जल्यो, सत्य थाहा धेरैलाई छैन लहडमा देश जल्यो न्याउरी मारी पछुतो भने जस्तै धेरै पश्चातापमा छन अहिले । कसैले एउटा स्टाटस लेख्यो रील पोस्ट गर्यो भने त्यसकै आधारमा धारणा बनाइन्छ। कसैले नेताको आलोचना गर्यो भने विरोधीको ट्याग लाग्छ। कसैले समर्थन गर्यो भने अन्धभक्त भनिन्छ। हामी मानिसलाई बुझ्नुभन्दा पहिले उसलाई कुनै समूहमा राख्न हतार गर्छौँ। तथ्य खोज्नुभन्दा पहिले निष्कर्ष निकाल्छौँ। आफ्नो धारणासँग मिल्ने कुरा स्वीकार गर्छौँ, नमिल्ने कुरा अस्वीकार गर्छौँ। तर मानिसको वास्तविकता एउटा स्टाटस वा राजनीतिक धारणाले मात्र परिभाषित हुँदैन। उसको अनुभव, उद्देश्य, जीवनका संघर्ष र सोच पनि बुझ्नुपर्छ। अनि सामाजिक संजाल नियमन गर्न सरकारले ठोस नीति लिन ढिलो गर्नुहुदैन ।
अन्तमा,
२०७७ सालमा बालुवाटारको भान्सामा राधिका आमालाई भाँडा माझिरहेको देखेको दिनदेखि जेनजी आन्दोलनपछिको केहि रात केपी शर्मा ओलीसँग विभिन्न विचारधाराबारे भएको संवादसम्मका अनुभव मेरो मनमा छन्। यी अनुभवले मेरा केहि धारणा बनाएका छन्, तर म तिनलाई कानुनी प्रमाणको विकल्प बनाउन त चाहन्नँ। तर रचना खतिवडा दिदीको पीडालाई सम्मान गर्छु। जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका परिवारले न्याय पाउनुपर्छ भन्ने ठान्छु। घटनाको निष्पक्ष अनुसन्धान होस्, वास्तविक जिम्मेवार व्यक्ति पहिचान होस् र दोषीलाई कानुनअनुसार कारबाही होस् भन्ने चाहन्छु। त्यसैगरी केपी ओलीमाथि लागेका आरोप पनि प्रमाणका आधारमा जाँचिनुपर्छ र जबर्जस्त थुपारियको भ्रमको जालो तोडिनु पर्छ भन्ने मेरो धारणा छ। उहाँ निर्दोष हुनुहुन्छ भने प्रमाणले स्पष्ट गरोस्; दोषी हुनुहुन्छ भने पनि कानुनले जवाफदेही बनाओस्। तर लहडमा लागेको भिडले होइन । यही सिद्धान्त सबै नेता र सबै नागरिकका लागि लागू हुनुपर्छ। म सबैलाई आग्रह गर्न चाहन्छु आफ्नो मनपर्ने नेतालाई जोगाउन सत्य नलुकाऔँ। मन नपर्ने नेतालाई दोषी देखाउन प्रमाणबिनै निष्कर्ष पनि ननिकालौँ। पीडितको आँसुलाई राजनीतिक स्वार्थको माध्यम पनि नबनाऔँ। न्याय माग्ने आवाजलाई पनि राजनीतिक पूर्वाग्रहका कारण बेवास्ता नगरौँ। सत्य कसैको निजी सम्पत्ति होइन। न्याय कुनै दलको घोषणापत्र होइन। मानवता कुनै राजनीतिक विचारधाराको बन्धक होइन। हामीले मानिसलाई भिडको भ्रमले होइन, तथ्य र प्रमाणका आधारमा बुझ्न सिक्नुपर्छ। प्रश्न सोध्नुपर्छ, प्रमाण खोज्नुपर्छ र आफ्ना प्रिय व्यक्तिको गल्ती भए स्वीकार गर्न सक्ने इमानदारीता राख्नुपर्छ। बालुवाटारको त्यो भान्सा मेरो स्मृतिमा एउटा दृश्य मात्र होइन। त्यो मेरो मनमा आजसम्म जीवित प्रश्न हो, हामी साँच्चै सत्य खोजिरहेका छौँ, कि आफूले पहिल्यै बनाएको धारणालाई सही साबित गर्न मात्र खोजिरहेका छौँ? एकपटक आफ्नो पूर्वाग्रहबाट बाहिर निस्केर तथ्यलाई हेरौँ। सत्य खोजौँ। पीडितलाई न्याय दिऔँ। निर्दोषलाई अन्यायबाट जोगाऔँ। अनि मात्र हामी आफूलाई न्यायप्रेमी र मानवतावादी समाज भन्न योग्य हुनेछौँ। त्यो बेला सुशासन खोज्न सामाजिक संजालमा स्टन्ट गरिराख्न पर्नेछैन।



प्रतिक्रिया