(एक नवप्राध्यापकको भोगाइबाट)
१
नयाँ कुर्सी पाएँ, तर कुर्सीमै काँडा पाएँ,
काम गर्न खोज्दा प्रश्न होइन, दबाब पाएँ।
सत्य बोल्न खोज्दा मौन बस्ने सल्लाह पाएँ,
प्राध्यापक बनेँ कि आदेश मान्ने कर्मचारी भएँ?
२
ज्ञान बोकेर आएँ, गुटका ढोका भेटिए,
कर्म गर्न खोज्दा कृपाका काँडेतार भेटिए।
कामको प्रमाण माग्दा धम्कीका स्वर सुनिए,
विश्वविद्यालयमा विचारभन्दा सम्बन्धका दरबार भेटिए।
३
विद्यार्थीलाई पढ्न भनें, आफू पनि पढ्दै रहेँ,
अनुसन्धान गर भनें, आफ्नै प्रश्नसँग लड्दै रहेँ।
उनीहरूले गुगल खोले, मैले पुस्तक पल्टाएँ,
दुवैको हातमा ज्ञान थियो, फरक केवल खोज्ने तरिका पाएँ।
४
हिजोका शिष्य प्रश्न गर्थे, गुरुका अघि झुक्थे,
आजका शिष्य प्रमाण खोज्छन्, तर्क लिएर उभिन्छन्।
यो परिवर्तनलाई कतिले अनुशासनको संकट भन्छन्,
म भने प्रश्न गर्ने विद्यार्थीमै विश्वविद्यालय देख्छु।
५
AI ले क्षणमै तथ्य र उत्तरको थुप्रो दिन्छ,
तर विवेक, मूल्य र मानवीय स्पर्श कहाँ दिन्छ?
प्राध्यापक अब उत्तरको गोदाम भएर पुग्दैन,
प्रश्न जन्माउने चेतना र सत्य छुट्याउने दृष्टि दिनुपर्छ।
६
प्रकाशनको संख्या गन्ने दौड अझै जारी छ,
अनुसन्धानको प्रभाव खोज्ने फुर्सदचाहिँ भारी छ।
कागजमा समाज बदल्ने निष्कर्ष धेरै लेखिन्छ,
समाजमा पुग्दा अनुसन्धान आफैँ कहाँ हराउँछ?
७
कक्षामा आदर्श, कार्यालयमा आदेशको शासन,
भाषणमा स्वतन्त्रता, व्यवहारमा मौन अनुशासन।
नवप्राध्यापकले कर्मको बाटो रोज्दा दबाब आउँछ,
तर समयले अन्ततः पद होइन, कर्मकै हिसाब माग्छ।
८
त्यसैले म कुर्सी होइन, कर्मको परिचय खोज्छु,
धम्की होइन, तर्कको निर्भीक आवाज रोज्छु।
AI सँग डराउँदिनँ, आफूलाई बदल्न तयार हुन्छु,
पदले होइन, प्रज्ञा र परिवर्तनले प्राध्यापक बन्छु

सिंम्बा, ताप्लेजुङ
हालः जनकपुरधाम



प्रतिक्रिया