अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन आजदेखि, अध्यक्षमा चारजना आकांक्षी

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन आजदेखि, अध्यक्षमा चारजना आकांक्षी


उदयपुर-नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ। त्रियुगा नगरपालिका-३, मोतिगडास्थि होटल इम्पाइर इनको हल हुने नवौं अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गर्ने उपसचिव तथा अधिवेशन आयोजक कमिटिका आर्थिक संयोजक भरत बहादुर थापाले जानकारी दिनुभयो।

दिउँसो १२ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको अधिवेशन आयोजक कमिटिका प्रचार-प्रसार उपसमिति संयोजक भरत खड्काले जानकारी दिनुभयो ।

अधिवेशनको सबै तयारी पूरा भएको छ। जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ।

नवौं अधिवेशनका लागि जिल्लाका चार नगरपिलका र चार गाउँपालिकाका ७५ वटा वडा र २३ वटा जन वर्गीय संगठन र सल्लाहाकरबाट ६३२ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनुभयो। अधिवेशनलाई सम्पन्न गर्नका निम्ति १३ वटा उपसमितिहरु बनाएर विभिन्न पार्टीका कामहरुको बाँडफाँड गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो।

अधिवेशनअन्तर्गत् मंगलबार उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। मंगलबार बन्दसत्र सुरू हुनेछ। चैत १४ गतेसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने एक नेताले जानकारी दिनुभयो।

अधिवेशनमा करीब एक हजार पार्टी कार्यकर्ता उपस्थित हुने र उनीहरुको खाने व्यवस्था र टाढाबाट आउनेहरुलाई बस्ने व्यवस्था आयोजक कमिटीले मिलाएको नेता थापाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अधिवेशन सम्पन्न गर्नका निम्ति करीब रु.१५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने खर्चको व्यवस्थापन आधिवेशनमा आउने प्रतिनिधिहरुबाट र पार्टीका जनप्रतिनिधिहरुबाट लेबी उठाउने निर्णय गरेका छौं।’

अधिवेशन चैत १३ गतेदेखि १४ गतेसम्म चल्ने भएकाले सो कार्यक्रममा सहभागी हुने प्रतिनिधि तथा नेता-कार्यकर्ता साथै एमाले शुभचिन्त महानुभावहरुरुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै अधिवेशन स्थलमा नै हेल्थ डेक्स र एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटिका स्वास्थ्य विभाग संयोजक तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले जानकारी दिनुभयो।

अध्यक्ष र सचिवका आकांक्षी को-को ?

नेकपा एमाले उदयपुरको अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन्। अधिवेशन सुरूभएसँगै नेतृत्वका दाबेदार नेताहरुले गतिविधि बढाएका छन्। अध्यक्षका लागि प्रमेश्वर घिमिरे, गोपाल खत्री, भागवत राउत र विमल कार्की आकांक्षी देखिएका छन्।

आकांक्षीमध्ये घिमिरे वर्तमान जिल्ला अध्यक्ष हुन्। यसैगरी खत्री कोशी प्रदेश कमिटीका पूर्व सदस्य हुन्। त्यस्तै राउत युवा नेता तथा समाजसेवी हुन्। कार्की प्रदेश सांसद हुन्। अघिल्लो प्रदेश सभा चुनावमा उदयपुर क्षेत्र-१ प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको थियो।

यस्तै सचिव पदमा भने भरत बहादुर थापा, कुशलबाबु बस्नेत, टेक बहादुर राउत र शम्भु पौडेलले दाबी गर्नुभएको छ । इच्छुक पदाधिकारीले प्रतिनिधि कार्यकर्ता र नेताहरुसँग लबिङ गरिरहेका एक स्रोतले जनाएको छ।

अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन्। कोही सर्वसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनावी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा छन्।