अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कसैको लहैलहैमा लाग्ने पार्टी होइन: शंकर पोखरेल

एमाले कसैको लहैलहैमा लाग्ने पार्टी होइन: शंकर पोखरेल


लमजुङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको खुलासा गर्नु भएको छ।

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले एमाले हल्ला नगरी काम गरेकोले गठबन्धन फुटाउन सकिएको बताउनुभएको हो। एमालले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्कने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो।

‘हाम्रा विरोधीलाई अलमल्याउने काम गर्‍यौँ, गठबन्धन कसरी भत्काउन सकिन्छ भनेर योजना बनायौँ र गठबन्धन ढालेर नयाँ समीकरण बनायौँ’,उहाँले भन्नुभयो। एमालेले सरकार चलाउन आवश्यक मत प्राप्त गर्न नसकेको अवस्थामा गठबन्धनले देशलाई ओरालो बाटोमा लगेपछि एमालेले गठबन्धनबाट जो बाहिर निस्कन्छ त्यसलाई सघाउने कुरा गरेको भए पनि कांग्रेस बाहिर निस्कन नचाहेको उहाँले बताउनुभयो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबाट बाहिर निस्कन चाहेकोले एमालेले समर्थन गरेको उहाँको भनाइ छ । वर्तमान समीकरण मिसन २०८४ को आधार बनाउने गरी बनेको उहाँले स्पष्ट पार्नुभयो । एमालेमाथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको उहाँको भनाइ छ। एमालले राखेको मान्यता राष्ट्रिय राजनीतिमा स्थापित भएको उहाँले बताउनुभयो। त्यसैले एमाले जनताको रोजाइको पार्टी बनेको उहाँले दाबी गर्नुभयो। ‘जनताको रोजाइको पहिलो पार्टी एमाले हो भन्ने कुरामा कुनै सन्देह छैन’, उहाँले भन्नुभयो।

एमालेको परिकल्पना समाजवादमा पुग्ने भए पनि अहिले नै समाजवादमा पुग्न नसकिने पोखरेलको धारणा छ। अहिलेको अवस्थामा समाजवाद परिकल्पना मात्र भएको उहाँको धारणा छ। अहिलेको आवश्यकता समाजवादको आधार तयार गर्ने मात्र भएको पोखरेलको भनाइ छ । समाजवाद एमालेको लक्ष्य भएपनि अहिलेको कार्यभार राष्ट्रिय पुँजी विकास गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘समाजवादी मोर्चा बनाएर जाने अवस्था अहिले सिर्जना भएको छैन’, पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले एमाले कसैको लहैलहैमा लाग्ने पार्टी नभएको उहाँले बताउनुभयो । त्यसैले अहिले वामगठबन्धन वा समाजवादी मोर्चा बनाउने कुरा बेकारको कुरा भएको पोखरेलको धारणा छ। राजनीतिक स्थायित्व कायम नगरी देश बनाउन नसकिने उहाँले बताउनुभयो । देश बनाउने हो भने बलिया राजनीतिक दल बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यस अर्थमा नेकपा एमालेलाई राष्ट्रलाई नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल बनाउन आवश्यक रहेको पोखरेलले बताउनुभयो । यसका लागि पार्टी पङ्ती खट्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिक परिवर्तन विकास र समृद्धिको साधन मात्र भएकोले राजनीतिक परिवर्तन भयो अब सरकारले गर्छ भनेर चुप लागेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । राजनीति परिवर्तनले मात्र समाज परिवर्तन नहुने उहाँले प्रष्ट्याउनुभयो । राजनीतिक परिवर्तन समाज परिवर्तनको माध्यम मात्र भएको पोखरेलले बताउनुभयो ।

नेपालमा २००७, २०४६ र २०६३ मा ठुला ठुला राजनीतिक क्रान्ति भएका भए पनि ती एउटा सहमतिमा गएर टुङ्गिएको पोखरेलले बताउनुभयो । नेपालमा सामाजिक क्रान्ति हुनै नसकेले नेपाली समाज परिवर्तन हुननसकेको पोखरेलले प्रष्ट पार्नुभयो। चुनाव वर्ग संघर्षको थलो भएकोले चुनावलाई महत्त्व दिनु पर्ने पोखरेलले बताउनुभयो। तर चुनावमा आफू उम्मेदवार हुन पाउँदा ठिक अरू हुँदा बेठिक भन्ने मनोवृत्ति पार्टीमा मौलाउँदै गएका पोखरेलले बताउनुभयो । जसले गर्दा पार्टीले निर्वाचनमा सोचेको परिणाम प्राप्त गर्न नसकेको उहाँको भनाइ छ।

पछिल्लो समयमा पार्टीका नेता कार्यकर्ताबीचको माया ममतामा केही कमी आएको उहाँले बताउनुभयो । जसले गर्दा राष्ट्रिय आवश्यकता अनुसार पार्टीलाई जुन हिसाबले बलियो बनाउनु पर्ने त्यतिको बलियो बनाउन नसकेको पोखरेलको भाइ छ । ‘राष्ट्रिय आवश्यकताको हिसाबले अझै हामी बलियो हुन सकेको छैनौँ’, उहाँले भन्नुभयो ।

देश विकासको लागि सबल नेतृत्व, बलियो राजनीतिक दल र स्थायित्व आवश्यक पर्ने उहाँले बताउनुभयो । त्यो क्षमता नेकपा एमालेले मात्र राख्ने पोखरेलले दाबी गर्नुभयो । त्यसको लागि सिङ्गो पार्टी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । परिवर्तनका विचार लिएर जनताको घर घरमा जानु पर्नेमा पछिल्लो समय नेता कार्यकर्ता जनताको घरमा जान छाडेका भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । पार्टी भित्रका कमजोरी सुधार्नु पर्ने र जनतालाई मन नपर्ने कुरा छाड्नु पर्ने बताउँदै पोखरेलले त्यसकै लागि एमालेले शुद्धीकरण र सुदृढीकरण अभियान चलाएको जानकारी दिनुभयो । पार्टीलाई जनताबाट अनुमोदित हुने पार्टी बनाउनु पर्ने पोखरेलको धारणा छ ।

अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।