अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताले एमालेको एकलौटी सरकार खोजेका छन्: अध्यक्ष ओली

जनताले एमालेको एकलौटी सरकार खोजेका छन्: अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले नेकपा (एमाले)काे एकलौटी सरकार खोजेको बताउनुभएको छ। झापा क्षेत्र-५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेका बताउनुभएको हो। 

अध्यक्ष ओलीले नेपाली जनताले देशमा एमालेको एकलौटी नेतृत्व खोजेको स्पष्ट भएको बताउनुभयो। उहाँले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताउनु भयो। उहाँले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गर्नुभयो। 

अध्यक्ष ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताउनु भयो। उहाँले भन्नुभयो, ‘एमाले यो ठाउँमा अब पराजित हुनुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जान सक्नुपर्छ।’

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन।’

देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उहाँले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिनुभयो।

दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न अध्यक्ष ओलीले सुझाव दिनुभयो। पार्टी दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेलको अध्यक्षतामा भएको नगर अधिवेशन उद्घाटनमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो। भोलिसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ।