अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार सहभागी हुने 

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार सहभागी हुने 


काठमाडौं-नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ। 

आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली रहनुहुने जानकारी दिनुभयो। 

नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ। ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौँ,’ पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो, ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ।’

उहाँका अनुसार, उद्घाटन कार्यक्रम २०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिब पाँच हजार महिलाको सहभागितामा हुनेछ।  भेलाको दोस्रो दिन १७ गतेको  कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ। 

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा एमाले आवद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार, भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ। समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा  एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ।