अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठगीका आरोप लागेकाले हल्ला गरेर क्लिन चिट पाइँदैन: शंकर पोखरेल

ठगीका आरोप लागेकाले हल्ला गरेर क्लिन चिट पाइँदैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालका दुरुपयोग गरिएको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल धनगढीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री र परराष्ट्र मन्त्री विदेशमा रहेको बेला उहाँहरूको विरुद्ध कु प्रचार गरेर लामिछाने माथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताउनुभयो। यसबाट नयाँ शक्ति भनिएकाहरूको चरित्र र नियत छर्लङ्ग भएको उहाँले स्पष्ट पार्नुभयो। ‘विदेशी भूमिमा प्रधानमन्त्री भइरहेको बेला प्रधानमन्त्रीको विरुद्ध जुन प्रकारका प्रचारहरू भइरहेका छन्, ती अति लज्जाजनक छन् र देशको हितका विरुद्धमा छन्’, पोखरेलले भन्नुभयो।

सो कार्य रवि लामिछाने माथिको अनुसन्धानलाई नै रोक्ने खालका गतिविधि भएको भन्दै उहाँले खेद व्यक्त गर्नुभयो। ‘यो कानुनी राज माथिको उपहास हो’, उहाँले भन्नुभयो।

कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले आरोप लाग्दा अनुसन्धानको लागि सहयोग गर्नुपर्नेमा त्यसबाट भाग्ने प्रयास भइरहेको पोखरेलले बताउनुभयो। अनुसन्धान प्रक्रियाबाट भागेर सुशासन दिन नसकिने उहाँले स्पष्ट पार्नुभयो। ‘नेपाली जनताका बिचमा सुशासनका ठुला कुरा गरेर राजनीतिक दल खडा गर्ने, आफू माथि उठेको प्रश्नको सम्बन्धमा अनुसन्धामा जान नमान्ने भन्ने कुरा कुनै पनि अर्थमा उचित कुरा होइन, त्यो अत्यन्त गलत कुरा हो, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निसर्त सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो।

लामिछाने माथि लागेको आरोप कति गम्भीर छ भन्ने कुरा सबैले बुझेको बताउँदै पोखरेलले एउटा कम्पनी खोलेर कानुन विपरीत सहकारीको ६५ करोड रुपैयाँ लैजाने कुरा चानचुने कुरा नभएको उहाँले स्पष्ट पार्नुभयो। ठगीकै नियतका साथ टेलिभिजन खोलिएको कुरा स्पष्ट भएको पोखरेलले बताउनुभयो।

कुनै पनि कम्पनीको प्रबन्ध निर्देशक कुनै पनि कम्पनीको श्रोत के हो भन्ने कुरा थाहा नै नपाई खर्च गरेँ भन्ने कुरा असक्षमता र अनुचित भएको पोखरेलले बताउनुभयो । सहकारीबाट लगेको कम्पनीको रकम जथाभाबी खर्च गरेर दुरुपयोग गर्नेले अहिले मेरो संलग्नता थिएन भने र क्लिन चिट नपाउने उहाँले स्पष्ट पार्नुभयो। ‘हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त गर्दैन, क्लिनचिट प्राप्त गर्नु भनेको कानुनी प्रक्रियामा सहयोग गरेर अदालतबाट सफाइ पाउनु हो, अथवा अनुसन्धान प्रक्रियामा निर्दोष ठहर भएपछि क्लिनचिट पाइन्छ’, पोखरेलले भन्नुभयो।

सहकारी छानबिन संसदीय समितिले लामिछानेलाई स्पष्ट रूपमा कानुनसम्मत कारबाही गर भनेको पोखरेलले बताउनुभयो। कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिनचिट प्राप्त गरेको भनेर सर्वथा भ्रामक प्रचार गरिएको उहाँले बताउनुभयो। पोखरेलले यस्तो भ्रमको पछि नलाग्न र भ्रम नफिँजाउन पनि आग्रह गर्नुभयो।

देशमा देखिको निराशा चिर्न र मुलुकको आर्थिक सङ्कटलाई अन्त्य गर्न तथा विदेशमा युवा पलायन रोकी राष्ट्र निर्माणमा लगाउन नेपालमा राजनीतिक स्थायित्व आवश्यक रहेको पोखरेलले बताउनुभयो। यसको लागि राज्यलाई बलियो बनाउनु पर्ने उहाँको धारणा छ । सो कामका लागि दुईवटा प्रमुख राजनीतिक पार्टी मिलेर अगाडि बढ्ने प्रयत्न गरिएको पोखरेलले जानकारी दिनुभयो।

स्थायित्वको आधार खोज्ने कुरामा दुई पार्टी सहमत भएका पोखरेलले स्पष्ट पार्नुभयो । विगतमा सरकाले बनाएको मुलुकको जोखिमपूर्ण अर्थतन्त्रबाट मुलुक बाहिर निस्कन लागेको उहाँले बताउनुभयो। ‘दुईवटा ठुला पार्टी मिल्दाको सकारात्मक असर मुलुकमा देखिन लागेको छ’, उहाँले भन्नुभयो।

जति बेला मुलुक संकटमा पर्दछ त्यति बेला माइतीघर सुनसान हुने र जति बेला सरकार केही काम गर्छ र जनतामा आशा जाग्छ त्यति बेला माइतीघर मण्डलामा अनेक तमासा देखाइने विडम्बनापूर्ण स्थिति रहेको उहाँले बताउनुभयो। आज सामाजिक क्षेत्रमा देखाइएको तमासा विकास र समृद्धिको विरुद्धमा रहेको उहाँले दाबी गर्नुभयो। 

अहिले सत्ताबाट बाहिरिनु पर्दाको पुष्पकमल दाहालको छटपटीले मुलुकको राजनीतिलाई तनावपूर्ण बनाउने काम गरेको उहाँले बताउनुभयो। सरकारको एक सय दिन पुग्न नपाउँदै माओवादीले संसदमा गरेको व्यवहारले संसद्को माहौल समेत बिग्रिएको उहाँको धारणा छ।

माओवादीले सशस्त्र द्वन्द्वको बेलामा गरेको हिंसालाई हिंसा भन्दा समेत हिंसा असंसदीय शब्द हो भनेर लफडा गरेको पोखरेलले बताउनुभयो। माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभएर राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको पोखरेलले बताउनुभयो । माओवादी द्वन्द्व कालमा हिंसासँगै राज्य आतंकको भएको उहाँले स्पष्ट पार्नुभयो। हिंसाको विरोध गर्नु अराजनीति पनि होइन, असंसदीय पनि होइन, यो कुरालाई माओवादी स्वयमले पनि स्विकारेको छ’, उहाँले भन्नुभयो।

माओवादी द्वन्द्वमा गैरन्यायिक हत्या, अपहरण, बलात्कार लगायतका घटना भएका कुरालाई सबैले स्विकारेको र त्यो दण्डनीय हुन्छ भन्ने कुरालाई सबैले मानेको उहाँले बताउनुभयो। यी कुरा भविष्यमा नदोहोरिउन् भनेर शान्ति प्रक्रिया अघि बढाएको कुरालाई माओवादीले राम्रोसँग बुझ्नु पर्ने बताउँदै उहाँले सत्ता छाड्नु परेको कुण्ठा जथाभाबी नपोख्न आग्रह गर्नुभयो।

पोखरेलले काम गर्न खोजिरहेको सरकारलाई काम गर्ने मौका दिनु पर्ने बताउनुभयो। लोकतन्त्रको मूल्य मान्यतालाई सबैले अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। प्रधानमन्त्री फेर्ने खेलले देश बन्न नसक्ने बताउँदै उहाँले जसको नेतृत्वमा सरकार बने पनि एकल बहुमतको सरकार बन्नु पर्ने बताउनुभयो। अहिले प्रमुख दल एकल बहुमतको सरकार बनाउने घोषणा साथ अघि बढेकाले देशले स्थिर सरकार पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।