काठमाडौं-नयाँ वर्ष २०८३ को अवसरमा काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले उक्त सेवा सुरु गर्न लागिएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै साझा यातायातसँगको सहकार्यमा ‘नाइट बस’ सेवा सञ्चालनमा ल्याइने बताएकी छन्। उनका अनुसार राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्।
यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने कार्यवाहक मेयर डंगोलले बताएकी छन्। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएको छ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो।
थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो।
प्रारम्भिक चरणमा दुई प्रमुख रुट निर्धारण गरिएको छ—
बुढानीलकण्ठ ⇄ लगनखेल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ⇄ थानकोट
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ। यात्रु तथा चालकको सुरक्षाका लागि बसमा सिसिटिभी जडान गरिनेछ भने प्रत्येक बसमा एक जना नगरप्रहरीको उपस्थिति रहनेछ।
उक्त सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ। क्रमशः अन्य स्थानीय तहसँग समन्वय गर्दै सेवा उपत्यकाभर विस्तार गर्ने योजना महानगरपालिकाको छ।
महानगरका अनुसार यस पहलले रातिको समयमा आवागमन सहज बनाउनुका साथै सुरक्षित र आधुनिक सार्वजनिक यातायात प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया