काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत्को भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुकबीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो। उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय दक्षिण एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताउनुभयो। 'यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधानसहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ', उहाँले भन्नुभयो।
कार्यक्रममा सार्क जोर्नालिस्ट एसोसिएसनका अध्यक्ष डा नटराज रेले दक्षिण एसियाका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताउनुभयो। भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको उक्त सङ्गठनमा अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो। उहाँले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो।
त्यसअवसरमा साउथ एसियाका विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो। बङ्गलादेशका प्रतिष्ठित पत्रकार नाहिद होसैनलाई २०२४ को ‘सार्क ग्लोबल एक्सीलेंस अवार्ड’ प्रदान गरिएको छ । कूटनीतिक पत्रकारितामा उत्कृष्ट योगदान गरेको भन्दै उहाँलाई ‘उत्कृष्ट रिपोर्टर ९कूटनीतिक मामिला०’ को रूपमा सम्मानित गरिएको हो।
अवार्डका लागि भारत, बङ्गलादेश र नेपालका पत्रकारलाई आह्वान गरिएको थियो। तीन देशका विशेषज्ञहरू सम्मिलित निर्णायक मण्डलले सबै आवेदकहरूको मूल्याङ्ककन गरेकामा होसैनलाई पुरस्कारका लागि चयन गरेको जनाइएको छ।
प्रतिक्रिया