काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताउनुभएको छ।
अर्थ समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सचिवहरुले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताउनुभएको भन्दै उहाँले झुटो कुरा नगर्न सचेत गराउनु भयो। समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो। जसबारे बोल्दै उहाँले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो। ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त। सम्पत्ति शुद्धीकरण गर्ने हो। करको दायरामा ल्याउने हो। करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरू। १० प्रतिशत छैन। जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो। ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ। सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ ? यो नभनिदिनुस्। अल्टिमेट कन्जुमरलाई गाह्रो हो। व्यापारीलाई गाह्रो होइन। दररेट बढाउनु भनेको नेपालको सुन व्यवसायीहरू ठप्प होऊ, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौं भनेको हो। आज निर्देशन गरेनौँ भने नेपालमा १० लाख परिवारको घर उजाड्छौँ।’
प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गर्नुभयो।
प्रतिक्रिया