काठमाडौं-नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महंगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार निरन्तर सुकिरहेको बताउनुभएको छ।
सोमवारको अर्थ समितिको बैकठमा बोल्दै सांसद महतोले यस्तो बताउनु भएको हो। सांसद महतोले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताउनुभयो। निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने गरी कानून निर्माण गर्न जरुरी रहेको उहाँले बताउनुभयो।
सांसद महतोले भन्नुभयो, ‘नेपालको बजार किन सुकेको यहीँ भन्सारमा हेर्न जानुस् न। पारीको पसल हेर्नुभयो भने कस्तो हाँसिरहेको छ। मारामार छ। चिनी र तेल किन्न गएको छ। त्यहीँ दशगजाको नेपालतिर आउँदा बजार सुकेको छ किन ? त्यो त्यहाँ गएर हेर्नुपर्छ। सिंहदरबारबाट मात्रै हेरेर हुँदैन। बेथितिहरु कहाँ छन्, भन्सारमा कति बेथिति छ। निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने, सुशासनको कुरा गर्ने तर यो कुराहरुले गरेर ठिक भइरहेको छैन। कच्चा पदार्थमा बनेको सामानको कुरा पनि आयो। कस्तो उल्टो। कच्चा पदार्थमा ६ प्रतिशत हुनुपर्ने, बनेको सामानमा १० प्रतिशत हुनुपर्ने छ। के भन्न खोजेको ? नेपालमा रोजगारी नदेउ, उद्योगधन्दा नखोल, युवाहरु अरब कतार जाउ, आफ्नो पसिना बाहिर गएर बगाउ के हो यो ? हामी रोजगारी दिन, युवालाई नेपालमा राख्न खोजेको हो भने कच्चा पदार्थ नेपालमै उत्पादन गर भन्ने होला नि।’
सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गर्नुभयो। यसले युवाहरुलाई विदेश जाउ, देशमा नबस भनेको स्पष्ट हुने बताउनु भयो।
प्रतिक्रिया