काठमाडौं-सभामुख देवराज घिमिरेले खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताउनु भएको छ।
मंसीर २९ गते शनिवार काठमाडौंमा आयोजित नेपाल विद्यालय खेलकुद महासंघको महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरे खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने भन्दै सरकार त्यो दिशामा लागेको बताउनु भएको हो।
सभामुख घिमिरेले भन्नुभयो, ‘खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउनको लागि, प्रतिभालाई अगाडि लानको लागि र खेलबाट पनि जीविकोपार्जनको महत्वपूर्ण आधार तय गर्न सकिन्छ, खेल जीवनको लागि महत्वपूर्ण हुन्छ र खेललाई राज्यले त्यही प्राथमिकताका साथ लिनुपर्छ। शिक्षामा राख्नुपर्छ, खेलको महाविद्यालय अथवा विश्वविद्यालयसम्म बनाउनुपर्छ। यस दिशामा लाग्ने काम सुरु भएको छ।’
यसको साथै, सभामुख घिमिरे खेलले जीविकाको आधार बनाउन सक्छ भन्ने विश्वास जगाउनुपर्ने अवस्था रहेको भन्दै यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘खेलकुदमा लागेर छोराछोरीहरु बिग्रिन्छन् भन्ने अभिभावकहरुको चिन्ताबाट बच्चाहरु खेलीदिए हुन्थ्यो भन्ने अवस्थामा लानुपर्ने एउटा परिस्थिती छ। यस्तो अवस्था ल्याउनको लागि यो संस्थाले महत्वपूर्ण भूमिका खेल्ने छ। अहिले खेलकुद सबैले सिक्नुपर्ने अनिवार्य विषय रहेछ, यसबाट नाम राख्नुको साथै जीविकाको आधार बनाउन सक्ने रहेछ भन्ने कुराको ज्ञान भर्खर हामी पाउँदैछौं। हामीले यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्छ।’
प्रतिक्रिया