अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ। २०८१ पुस २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

‘एमाले सचिवालय बैठक २०८१ पुस १० बुधबार ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्दैछ। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति घोषणासहित र बैठकका एजेन्डा तय गर्छ’, नेता अधिकारीले भन्नुभयो, ‘केन्द्रीय समितिको यो नियमित बैठक बस्न लागेको हो।’ 

एमालेले २०८१ पुस २० र २१ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरे पनि बैठक बस्ने मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन। 

एमालेको विधानअनुसार केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्ने प्रावधान छ। यसअघि एमाले केन्द्रीय कमिटी बैठक २०८१ असारमा बसेको थियो । 

केन्द्रीय कमिटी बैठकमा विशेषगरी पार्टीका सङ्गठन निर्माण र सरकार सञ्चालन लगायतका विषयमा छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

पार्टीको सङ्गठन विभागले मङ्सिर अन्तिम साता सम्पन्न गरेको राष्ट्रिय कार्यशालाले आगामी माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई केन्द्रीय समिति बैठकले कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउने नेताहरूको भनाइ छ।