अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो नाम मुछेर नेतृत्व र कार्यकर्तालाई भ्रममा पार्ने प्रयास नहोस्: एमाले वाग्मती प्रदेश सल्लाहकार

हाम्रो नाम मुछेर नेतृत्व र कार्यकर्तालाई भ्रममा पार्ने प्रयास नहोस्: एमाले वाग्मती प्रदेश सल्लाहकार


काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेश कमिटी सल्लाहकारहरूले पार्टी नेतृत्वलाई बदनाम गर्ने र आफूहरू विरुद्ध कुप्रचार गर्ने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ।

पार्टीको वाग्मती प्रदेश कमिटी सल्लाहकारमा आफूहरूलाई मनोनीत गरेको प्रति असन्तुष्टि जनाउँदै सो पद अस्वीकार गरेको भनी कुप्रचार गरिएको भन्दै उहाँहरूले आपत्ति जनाउनुभएको हो।

पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलाई एमाले नेताहरूले टेरेनन् भन्दै आफूहरूको नाम मुछेर समाचार प्रकाशित गरिएको उहाँहरूको गुनासो छ। ‘अरू को-को ले टेरेनन् हामीलाई थाहा छैन, हामीले पार्टीले तोकेको जिम्मेवारीमा बसेर पार्टी काम गरिहरेका छौँ, हाम्रो नाम मुछेर हामीलाई बदनाम गर्ने प्रयास नहोस्, नेतृत्व र कार्यकर्तालाई भ्रममा पार्ने प्रयास नहोस्’, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सल्लाहकार टङ्क चौलागाईँले भन्नुभयो।

अर्का प्रदेश कमिटी सल्लाहकार कमल कडरिया पनि आफूहरूलाई नसोधी समाचार बनाइएको बताउनुहुन्छ। ‘म पार्टी काममा नै छु, पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहीँ बसेर काम गर्छु, मलाई केही थाहा छैन, मैले प्रदेश सल्लाहकार अस्वीकार गरेँ भनेर समाचार आएछ’, कडरियाले भन्नुभयो ।

कडरियाले आफूले बोल्दै नबोलेको कुरालाई समाचार बनाएर विरोधीले पार्टी, पार्टीका प्रदेश अध्यक्ष र आफ्नो समेत बदनाम गराउने काम गरिएको बताउनुभयो । यस्ता भ्रमको पछि नलाग्न पार्टीका नेता, कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो।

वाग्मती प्रदेश कमिटीका सल्लाहका पाल्देन लामाले पनि पार्टी नेतृत्वसँग आफ्नो फाटो ल्याउने र कार्यकर्तालाई भ्रममा पार्ने नियतले हल्ला फिँजाइएको बताउनुभयो। पार्टी नेतृत्वसँग कुनै समस्या नरहेको र पार्टीले तोकेको काममा आफू सधैँ लागिरहने लामाले बताउनुभयो। ‘पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यहाँ बसेर काम गर्नु कम्युनिष्ट पार्टीका सदस्यको धर्म हो, त्यो धर्मबाट विचलित भएको छैन’, उहाँले भन्नुभयो।

पार्टी संकटमा परेको बेला समेत पार्टीलाई जोगाउन लागेको र अहिले पनि पार्टी काममा निरन्तर क्रियाशील रहेको बताउँदै अर्का प्रदेश कमिटी सल्लाहकार प्रदीप योञ्जनले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो । पार्टीले दिएको जिम्मेवारी आफूले जस्तोसुकै सङ्कटको बेलामा पनि पुरा गर्दै आएको र अहिले पनि जिम्मेवारीमा नै रही आफूले काम गर्दै आएको बताउँदै योञ्जनले यस्ता अनर्गल प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

एमाले नेता उद्धव कडरियाले पनि पार्टीमा आन्तरिक समस्या भए वा असन्तुष्टि भए पार्टी बैठकमा नै राखिने बताउँदै बाहिर हल्ला गरिए जस्तो पार्टी नेतृत्वलाई नटेर्ने वा असहयोग गर्ने कुनै पनि काम नभएको स्पष्ट पार्नुभयो ।

उहाँहरू पाँचै जना रामेछाप भूगोलका नेताहरू हुनुहुन्छ । रामेछापकै एमाले नेताहरूले रामेछाप भूगोल भएका पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललाई टेरेनन् भनेर विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएपछि उहाँहरूको यस्तो प्रतिक्रिया आएको हो ।

Skip This