अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना नेतालाई एमालेले गर्‍यो कारबाही

भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना नेतालाई एमालेले गर्‍यो कारबाही


काठमाडौं-अछाममा पार्टी हित विपरीत काम गर्ने ६ जना जिल्ला कमिटीका नेताहरूलाई नेकपा एमालेले कारबाही गरेको छ।
डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानको पक्षमा लागि पार्टी हित विपरीत काम गर्नेलाई पार्टी जिल्ला कमिटीले कारबाही गरेको हो।

एमाले अछाम जिल्ला कमिटीका अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीतका गतिविधिमा संलग्न भएकोले कारबाही गरिएको स्पष्ट पार्नुभएको छ।

कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर हुनुहुन्छ। उहाँलाई पार्टीको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ।

‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि पनि उहाँहरू पार्टी हित विरुद्धको गतिविधिमा लागेको विज्ञप्तिमा उल्लेख छ। त्यस बेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएकोमा पुनः त्यस्ता गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको जनाइएको छ।

जिल्ला कमिटी सचिव भीम रावलले नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरीत कार्य गरेको हुँदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताउनु भयो।