काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका केही गर्छु भन्नेलाई अवसर नै अवसर भएको बताउनुभएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा आयोजित संगठनमा प्रवेश गर्नेको स्वागत कार्यक्रम कार्यक्रमलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा अवसर छैन भन्ने कुरा नै गलत भएको बताउनुभयो। ‘जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकास सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन्’, महासचिव पोखरेलले भन्नुभयो।
नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उहाँले बताउनुभयो । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति बिदेसिने क्रम चलिरहेकोले त्यसलाई रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्वास्थ्य क्षेत्र प्रभाकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने बताउनुभयो। स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने पोखरेलले प्रष्ट पार्नुभयो।
अहिले पनि नेपालीको ठुलो सङ्ख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको महासचिव पोखरेलले सुनाउनुभयो।
तथापि नेपालमा आँखाको उपचारका लागि विदेशका मानिसहरू पनि आउने गरेका उहाँले बताउनुभयो। चिकित्सा क्षेत्रमा सामर्थ्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने महासचिव पोखरेलले बताउनुभयो। नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको पोखरेलले बताउनुभयो।
प्रतिक्रिया