काठमाडौं-नेपालका एमालेका सचिव एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले ताप्लेजुङको समृद्धिमा ठूलो योगदान पुर्याउने बताउनु भएको छ।
गर्भमै छँदा देखि विवादमा रहेको यो परियोजनामा २०८१ माघ १२ गते हालसम्मकै अप्रिय घटना भएको थियो। जहाँ केवलकार बनाउन नदिने समूह र प्रहरीबीच झडप हुँदा २१ जना प्रह्री र पाँचजना आन्दोलनकारी घाइते भएका थिए। प्रहरीको अवस्था सामान्य भए पनि तीनजना आन्दोलनकारी अहिले पनि काठमाडौंका अस्पतालमा उपचाररत छन्। केवलकार बनाउने वा नबनाउने भन्ने विषयमा हालसम्म मौन बस्नुभएका एमाले सचिव भट्टराईले बुधबार दायाँबायाँ ताप्लेजुङे नेताहरु राखेर केवलकार निर्माणलाई रोक्न नहुने धारणा सार्वजनिक गर्नुभएको छ।
काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरेर संघीय सांसद भट्टराईले आफूले मात्र होइन ताप्लेजुङका राजनीतिक दल र तीनै तहका जनप्रतिनिधि पनि केवलकार निर्माणको पक्षमा रहेको दाबी गर्नुभएको छ। भट्टराईले १९ बुँदे धारणा सार्वजनिक गर्दै हाल वार्षिक ३ लाख भक्तजन पुगिरहेको पाथिभरामा केवलकार निर्माणपछि कम्तीमा १० लाख भक्तजन पुर्याउन सकिने अपेक्षा गर्नुभएको छ। उहाँले यिनै भक्तजनलाई बस्ने होटल, खाना खाने प्रबन्ध र उनीहरुले जिल्ला बस्दा गर्ने खर्चले ताप्लेजुङको समृद्धि सम्भाव हुने बताउनुभएको छ। पाथिभरा सम्पूर्ण जातजातीको आस्थाको केन्द्र भएको सचिव भट्टराईको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘पाथिभरालाई शक्तिकी देवीको रुपमा बुझिन्छ।

खस,आर्य,लिम्बू, राई (किराँत), गुरुङ, तामाङ ,शेर्पा, मगर, नेवार लगायत सबै जात र विशेष गरी हिन्दु ,बौद्ध र किराँत धर्मावलम्बीहरुले समान रुपले आस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथिभरा’ पाथिभराको महत्व दर्शाउदै भट्राईले विज्ञप्तीमा लेख्नु भएको छ।
सचिव भट्टराई १२ माघको घटनाप्रति दु:ख व्यक्त गर्दै दुवैतर्फका भट्राईले घाइतेहरुको प्रभावकारी उपचार र गिराफ्तार भएकाहरुको निशर्त रिहाइको माग गर्नु भएको छ। केवलकार निर्माणका सन्दर्भमा फैलिएका केही हल्लाका बारेमा पनि भट्टराईले स्पष्ट पार्नु भएको छ। ‘केवलकार निर्माणका क्रममा २१ सय १२ वटा रुख र पोलहरु काटिने हुन्। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हैन’ उहाँले भन्नुभयो।
उहाँले केवलकारको स्टेसन कान्छीथान भन्दा २ सय मिटर छेउमा रहेको र पाथिभरा मन्दिर भन्दा ८ सय मिटिर बाहिर रहेकोले यसले त्यहाँका नियमति धार्मिक कर्मलाई कुनै असर नगर्ने भट्टराईको विज्ञप्तीमा उल्लेख छ। पाथिभरा मन्द्यिर परिसरमा होटल लगायत कुनै पनि संरचना निर्माण गर्न नदिइने स्पष्ट पार्नु भएको छ । केवलकार कम्पनीले उपलब्ध गराउने सामाजिक उतरदायित्वको बजेट र नेपाल सरकारको बजेटले स्थान्ीय संस्कृतिको जर्गेना गर्नका लागि मुकुम्लुङ पार्क तथा संग्राहलय निर्माण गर्न उहाँले आग्रह गर्नु भएको छ। लोकतन्त्रमा फरक मत राख्ने अधिकार सबैलाई भए पनि परिस्थिती भड्काउने र सामाजिक सद्ध्भाव खलल् पार्ने अधिकार कसैलाई नभएको भट्टराईले स्पष्ट पार्नु भएको छ। उहाँले आन्दोलनरत पक्षलाई बन्द्य र हड्तालका कार्यक्रम फिर्ता गरी वार्ताबाट साधान खोज्न सुझाउनु भएको छ। भट्टराईले केवलकार कम्पनीले ताप्लेजुङका स्थानीबासीलाई रोजगारी दिनुपर्ने,यस जिल्लाका ७० वर्ष भन्दा माथीका र १० वर्ष भन्दा मुनीका नागरिकलाई निशुल्क केवलकार सेवा दिनुपर्ने माग पनि गर्नुभएको छ।
सचिव भट्टराईसँग नेपाली काँग्रेस जिल्ला उपसभापति डिल्लीरमण बराल, ताप्लेजुङ सरोकार समाजका पदाधिकारी, ताप्लेजुङ सरोकार केन्द्र पूर्व अध्यक्ष चित्रगुप्त साँवा,समाजसेवी डालकुमार गुरुङ,एमाले नेता शिव कुमार गुरुङ लगायत उपस्थित हुनुभएको थियो।
सचिव भट्टराई आज जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस्तो छ
ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार सम्बन्धमा मेरो धारणा
योगेश भट्टराई
प्रतिनिधिसभा सदस्य, ताप्लेजुङ
१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो।
२. ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन्।
३. केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना घट्न पुग्यो।
४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो।
५. जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम,दार्जिलिङ,असाम, पश्चिम बङ्गाल,उत्तर प्रदेश,विहार लगायतका क्षेत्रबाट ठुलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन्।
६. पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनि यो सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ।
७. पाथीभरालाई शक्तिको प्रतीक देवीको रूपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुङ,तामाङ शेर्पा,मगर,नेवार,लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल हो पाथीभरा।
८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो। तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर ताप्लेजुङवासीहरूको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासीहरूको साझा धारणा रहेको छ ।
९. भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढङ्गले पुग्न सकियोस् वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुईमत छैन ।
१०. केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
११. निर्माण कम्पनीले प्रस्तुत गरेको र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिविदेशका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ। पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटेल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन। रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन।
१२. ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत् आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोबास गर्ने महानुभावहरू तथा विदेशमा रहुन् भएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ। र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङवासीहरूको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु ।
१३. २०८१ माघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु। त्यस क्रममा घाइते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै घाइतेहरूको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।
१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवर्द्धनका लागि मुकुम्लुङ पार्क तथा सङ्ग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गर्दछु।
१५. लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु। त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ। परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन। यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु।
१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष,राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ। साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढङ्गले अघि बढाउनु पर्दछ।
१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।
१८. पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीले लिनु भएको तत्परता प्रति धन्यवाद व्यक्त गर्दछु। कोसी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु।
१९. ताप्लेजुङको समग्र विकासमा एकताबद्ध रूपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु। सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु।
प्रतिक्रिया