काठमाडौं-नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदय योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेका बताउनुभएको छ।
सचिव भट्टराईले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्दै केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि २०८१ माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ। सो घटन मा घाइतेको राम्रो उपचार व्यवस्थाको भट्टराईले माग गर्नुभएको छ।
ताप्लेजुङ जिल्लाको आर्थिक समृद्धिको आधार जलश्रोत, पर्यटन र कृषि भएको उल्लेख गर्दै भट्टराईले तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र पर्यटन नै भएको स्पष्ट पार्नुभएको छ। ‘ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ, त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर ताप्लेजुङवासीहरूको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासीहरूको साझा धारणा रहेको छ’, भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै लेख्नु भएको छ।

भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म वृद्ध-वृद्धा, बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुग्ने भन्ने उद्देश्यले केबुलकार उपयुक्त विकल्प हुनेमा दुईमत नरहेको भट्टराईले स्पष्ट पार्नुभएको छ। ‘केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ, जसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ’, भट्टराईले आफ्नो धारण प्रष्ट राख्नु भएको छ।
निर्माण कम्पनीले प्रस्तुत गरेको र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने नदेखिएको भट्टराईले स्पष्ट पार्नुभएको छ । ‘पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ, पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ, पाथीभराको टुप्पोमा कुनै होटेल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन, रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ , बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन’, भट्टराईको स्पष्ट धारणा छ ।
पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र सम्बन्धनका लागि मुकुम्लुङ पार्क तथा सङ्ग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन उहाँले माग गर्नुभएको छ । भट्टराईले । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने उल्लेख गर्दै यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै भट्टराईले अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्नुभएको छ ।
भट्टराईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु पर्ने, प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्ने, रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने, केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्ने, स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने माग राख्नु भएको छ।
प्रतिक्रिया