चितवन-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताका समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ।
शनिबार नेकपा एमाले रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार टिकाउनका लागि नभई जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउनका लागि सरकारले अध्यादेश ल्याएको बताउनु भएको हो।
नेता पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पार्नुभयो । उहाँले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।

अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने नेता पोखरेलले बताउनु भयो। अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुसासनको काम द्रुत गतिमा अगाडि बढ्ने पनि नेता पोखरेलले बताउनुभयो।
नेता पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएको स्पष्ट पार्नुभयो । मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको उहाँले बताउनु भयो । २०८४ को निर्वाचनमा दुई दलबीचमा प्रतिस्पर्धा हुने नेता पोखरेलले बताउनुभयो।

कार्यक्रममा पार्टी निर्माणमा योगदान गरेका गोकर्ण कट्टेल, बालकृष्ण कोइराला, मानबहादुर तामाङ, पूर्णमान श्रेष्ठ, खड्गकुमारी ढुंगाना, छायाँदेवी गौतम, हर्कबहादुर अधिकारी, धनवीर महतो, टंकप्रसाद ढकाललाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिनुभयो।
तीन सयजना प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालको लागि एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर कमिटी चयन गर्ने नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया