काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको लडाइ भएको बताउनुभएको छ।
आइतबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले अधिकारको लडाइँ लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नु पर्ने बताउनुभयो। ‘यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ’, उहाँले भन्नुभयो ।
दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने उपमहासचिव ज्ञवालीले बताउनुभयो। अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौँ भनेर आएका भन्दै ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो । ‘के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन, सही र गलत छुट्याउन नसक्नेले कसरी समाज परिवर्तन गर्न सक्छ ?’, उहाँले भन्नुभयो।

अहिले सामाजिक सञ्जाल मार्फत सूचना भन्दाबढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताउनुभयो । ‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भन्नुभयो।
विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उहाँले बताउनुभयो । यस्ता समस्याको समाधान वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको ज्ञवालीको भनाइ छ।
२० वर्ष यता विश्वमा धेरै परिवर्तन भएको बताउँदै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न सक्नु पर्ने बताउनुभयो । यसो गर्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने उहाँको धारणा छ। ‘हामीले आफूलाई अपटेड गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएका बताउँदै ज्ञवालीले त्यसैले नेकपा एमाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको बताउनुभयो । एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया