काठमाडौं-नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गर्नुभएको छ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेको बताउनु भएको हो।
प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘प्रतिनिधिसभामा केही समस्या छैन। राष्ट्रियसभामा केही समस्याजस्तो देखियो तर अहिले कुरा मिलिसक्यो। जसपा नेपालले समर्थन गर्छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले सत्तापक्षकै बेञ्चमा बसेको छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’
संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताउनुभयो।
प्रतिक्रिया