अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारलाई खोज अनुसन्धानको काममा लाग्न पार्वत गुरुङको आग्रह

पत्रकारलाई खोज अनुसन्धानको काममा लाग्न पार्वत गुरुङको आग्रह


दोलखा-नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले पत्रकारिता क्षेत्र प्रतिको उत्साह बिस्तारै कम भएको बताउनु भएको छ।

प्रेस चौतारी नेपालका दोलखाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई २०८१ माघ २४ गते बिहीबार चरिकोटमा सम्बोधन गर्दै नेता गुरुङले यस क्षेत्रमा उत्साह घट्नुको कारणका बारे पत्रकारले मात्र होइन राजनीतिक दल र समाजले पनि विश्लेषण गर्नुपर्ने बताउनुभयो।

नेता गुरुङले पत्रकार महासंघ भित्र पनि आफ्नै समस्या रहेका बताउनुभयो। पत्रकार महासंघको गरीमा त्यहीँ रहेको नेतृत्वको कारण पनि कमजोर भएको बताउँदै उहाँले नयाँ आएको नेतृत्वले त्यसलाई उठाउनु पर्नेमा जोड दिनुभयो । ‘पत्रकार महासंघमा यस्ता खालका विकृतिहरू अब नदोहोरिउन्’, नेता गुरुङले भन्नुभयो।

केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले सम्मिलित सरकार नबनेको भए पत्रकार महासंघ महाधिवेशन नै गर्न नसकी खारेज हुने अवस्थामा पुगेको नेता गुरुङले बताउनुभयो। कुनै संस्थालाई जोगाउन समेत राष्ट्रलाई एमालेको नेतृत्व आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेता गुरुङले केन्द्रमा मात्र होइन विकास पत्रकारिताको लागि अब गाउँगाउँबाट पत्रकार जन्मनु पर्नेमा जोड दिनुभयो। यसले तलका समाचार आउन सक्ने उहाँको भनाइ छ।

पत्रकारिता राष्ट्रको चौथो अङ्ग भएकोले यसको मर्यादालाई जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो। त्यसको लागि पत्रकार पनि मर्यादामा बस्नु पर्ने र समाजले समेत त्यो मर्यादालाई कायम गर्न लाग्नु पर्ने बताउनुभयो।

नेता गुरुङलेले पत्रकारितामा नै नहुने व्यक्तिले पत्रकार भन्दै हिँडेर समाजमा विकृति फैलाउने काम गरेका बताउनुभयो । त्यसैले यसका लागि केही विधि र मापदण्ड निर्माण गर्नुपर्नेमा गुरुङले जोड दिनुभयो ।

उहाँले पत्रकारको क्षमता विकासको लागि नेकपा एमालेले विशेष योजना बनाउने बताउनुभयो । यसको लागि पार्टीले योजना बनाएर काम गर्ने गुरुङले प्रष्ट पार्नुभयो ।

नेता गुरुङले दोलखामा विभिन्न जलविद्युत आयोजनाहरू निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकाले ती आयोजनाहरू दोलखाका जनताको हित हुने गरी पत्रकारले कलम चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यस्ता आयोजनाबाट निश्चित मानिसहरूले लाभ लिने स्थानीय श्रोतको उपयोगबाट स्थानीय समुदाय वञ्चित भइरहेको कुरालाई पत्रकारिता क्षेत्रले उठाउनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले दोलखासँग जोडिएका आयोजनाहरू जबसम्म पुरा हुँदैनन् र ती योजना जनताको हितमा प्रयोग हुँदैनन् त्यति बेलासम्म एमालेले उठाइ रहने गुरुङले प्रष्ट पार्नुभयो। राज्यको पैसा दुरुपयोग गरेर कुनै राजनीतिक दलले आफ्ना कार्यकर्ता उत्पादन गर्ने थलो बनाउन नमिल्ने बताउँदै त्यसका विरुद्ध एमालेले आवाज उठाउने उहाँले बताउनुभयो। यसमा पत्रकारिता क्षेत्रलाई पनि भूमिका निर्वाह गरिदिन नेता गुरुङले आग्रह गर्नुभयो ।

नेता गुरुङले पत्रकारहरूलाई खोज अनुसन्धानको काममा लाग्न आग्रह गर्नुभयो। सामाजिक समस्याका साथै विश्व जगतमा भएको प्रगति र त्यसबाट नेपालले लिन सक्ने लाभको बारे पनि समाजलाई सुसूचित गर्न उहाँले सुझाव दिनुभयो।

कार्यक्रममा बोल्दै नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जिम्मेवार र उत्तरदायी समाज आजको आवश्यकता भएको बताउनुभयो। पत्रकारितालाई समाजप्रति उत्तरदायी बनाउनु पर्ने र समाजले पनि पत्रकारलाई माया गर्ने बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

अहिले समाजमा विकृति बढेको बताउँदै श्रेष्ठले त्यसलाई रोकेर समाजलाई ठिक बाटोमा ल्याउनु पर्नेमा जोड दिनुभयो । समाजको निराशा चिर्न पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो। ‘एमालेले उठाएको एजेण्डा १० वर्ष लाग्ला, २० वर्ष लाग्ला तर पुरा हुन्छ, हुन्छ’, उहाँले भन्नुभयो।

उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, अग्रज पत्रकार चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण थामी, जिरी नगरपालिका प्रमुख मित्र जिरेल लगायतले शुभकामना सन्देश दिनुभएको थियो ।
कार्यक्रममा बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार जीवन लामालाई प्रदान गरिएको थियो । प्रेस चौतारी नेपालका पूर्वअध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।