अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्य बलियो हुन दल बलिया हुनु आवश्यक: शंकर पोखरेल

राज्य बलियो हुन दल बलिया हुनु आवश्यक: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको अत्यन्त ठुलो सपनाको दस्ताबेज भएको बताउनुभयो। ‘यो २००७ साल देखिको सपना पुरा भएको दस्ताबेजको अर्थमा जनताको संविधान हो’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले संविधान प्रति सबैको अपनत्व भएको बताउनुभयो। संविधान संशोधन भन्नुको अर्थ त्यस प्रतिको अनादर नभएको बताउँदै उहाँले सम्मान सहित त्यसले निर्धारण गरेको विधि र प्रक्रियामा प्रवेश गर्ने कुरा भएको स्पष्ट पार्नुभयो।

नेकपा एमाले र कांग्रेस सरकारको सरकार बनाउँदाको सहमतिको एउटा बुँदामा संविधान संशोधनको विषय भएको उल्लेख गर्दै पोखरेलले देशमा स्थिरता सिर्जनाको लागि यसले महत्त्व राख्ने बताउनुभयो।

महासचिव पोखरेलले काठमाडौं केन्द्रित एकात्मक शासन व्यवस्था तल जान सङ्कोच मान्दा संविधान कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो। कतिपय कानुन निर्माणका क्रममा आएको जटिलता पनि त्यही मनस्थितिको उपज भएको पोखरेलले बताउनुभयो।

निर्वाचन प्रणालीलाई सुधार गर्दा देशलाई स्थायित्व दिन सकिन्छ कि भनेर संविधान संशोधनका क्रममा छलफलको विषय बनाउनु पर्ने उहाँको धारणा छ। समावेशितालाई बलियो बनाएर निर्वाचन प्रणालीमा सुधार गर्न सकिने महासचिव पोखरेलले बताउनुभयो।

उहाँले नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्ने बताउनुभयो। राज्य बलियो बनाउन राजनीतिक दल बलिया हुनु पर्ने धारणा राख्नु भयो। कसैलाई पनि कमजोर बनाएर राज्य बलियो नहुने पोखरेलले स्पष्ट पार्नुभयो।