काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गर्नुभएको छ।
शुक्रबार नेकपा एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपालका लागि आइसिटीमा आधारित उद्यमशीलता : आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले अध्यादेशको विरोध भएको र यो असफल हुन्छ कि भन्ने नठान्न आग्रह गर्नुभयो। ‘यो प्रमुख पार्टीहरूले सचेततापूर्वक गरेको काम हो, त्यस अर्थमा त्यसलाई हामी जसरी पनि टुग्याउँछौँ, कसैले विरोध गरेर त्यो रोकिनेवाला छैन’, महासचिव पोखरेलले भन्नुभयो।
अध्यादेश आफैमा कानुन भएको बताउँदै महासचिव पोखरेलले त्यो कार्यान्वयनमा आइसकेको बताउनुभयो । अध्यादेशलाई स्थायी कानुनमा ढाल्ने बताउँदै महासचिव पोखरेलले यो कुनै समस्याको विषय नभएको स्पष्ट पार्नुभयो।
आइसिटीको विकासका लागि शिक्षाको प्रणालीमा नै परिवर्तन गर्नुपर्ने पनि महासचिव पोखरेलले बताउनुभयो । पोखरेलले नेपालमा आइसिटीमा आधारित शिक्षा प्रणाली नै विकास नभएको बताउनुभयो।

त्यसैले यसका विषयमा यसका विज्ञले नै नेतृत्व लिनु पर्ने पोखरेलको धारणा छ। ‘नयाँ प्रविधि विकास भइसक्यो, तर हामी त्यसमा नै अनविज्ञ छौँ, भएन भन्ने होइन के कसरी गर्ने भन्ने कुरामा जानु पर्दछ’, उहाँले भन्नुभयो।
आइसिटीलाई प्रयोगमा ल्याउन कर नीतिमा पनि राज्य उदार बन्नु पर्नेमा उहाँले जोड दिनुभयो। यस विषयमा छलफल गरेर आवश्यक नीति बनाउन सकिने पोखरेलले प्रष्ट पार्नुभयो ।
डिजिटल नेपालको अवधारणा राज्यले निक्कै अघि ल्याएको भए पनि त्यो अझै कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो । प्रयोगमा आएकामा पनि बारम्बार समस्या आउने गरेको पोखरेलले सुनाउनुभयो ।

कर्मचारीहरूले सर्वरले काम गरेको छैन भनेर काम रोक्ने गरेको बताउँदै उहाँले यसमा कर्मचारीको मनोवृत्तिले काम गरेको हो कि सेवामा नै समस्या आएको हो ? भन्दै प्रश्न गर्नुभयो । यो सेवालाई प्रभावकारी बनाउन सबै क्षेत्रलाई तन्दुरुस्त बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया