काठमाडौं-सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ। संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरिएको हो।
सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेको छ।
सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो। अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ। त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको स्रोतले बतायो। संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो।
सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ। सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी रहेको स्रोतले बतायो।
सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत् कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ।
संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा छन्। हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ। बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि-बजेट छलफल गरिन्छ। एक अधिवेशनदेखि अर्को अधिवेशनबीच कम्तीमा १५ दिनको समय आवश्यक हुने व्यवस्था भएकाले चैत तेस्रो साता नै हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो।
प्रतिक्रिया