अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ: प्रधानमन्त्री ओली

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ: प्रधानमन्त्री ओली


अर्घाखाँची-प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताउनु भएको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताउनुभएको हो।

विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीति-निर्मातालगायतको उपस्थिति रहेको छ। कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र डा पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ।

अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गर्नुभएको थियो । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ।