काठमाडौं-सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधवार बिहान बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको बताउनुभयो। उपमहासचिव ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ।
समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको उहाँको भनाइ छ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ। लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी विभिन्न कोणबाट भइरहेका हमला तथा आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने कुरा छन् । विकास निर्माण समयमै सकिने र उच्च प्राथमिकता दिनुपर्छ भन्ने भएको छ । बजेट छरिएको, स्रोतहरूको अपव्यय भइरहेको छ।’
यस्तै अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, युवा पुस्तालाई आशा र विश्वास जगाउन उद्यमशीलताको विश्वास जगाउने खालको कार्यक्रम ल्याउनेबारे सुझाव आएको उहाँले बताउनुभयो।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘युवा पुस्तालाई आशा र विश्वास जगाउनका निम्ति उनीहरूमा उद्यमशीलताको विकास गर्ने, सिप विकास, स्टाटअप, व्यवसायी योजना र बजार व्यवस्थापनको समग्र योजनासहितको कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, अनावश्यक र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्ने, सुशासनलाई प्रभावकारी बनाउन सुझाव आएका छन् । बाह्य सम्बन्धलाई थप सुदृढ गर्ने । बसाइसराई रोक्न पहाड केन्द्रित रोजगारी, कृषि व्यवसायका कार्यक्रम अगाडि बढाउने । विगतका भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् । र, त्यही ढङ्गले बजेटलाई पच्छ्यायोस् ।’
बैठकले शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक भएकाले आज दिउँसो सम्म निष्कर्षमा पुग्ने विश्वास लिएको छ। सुरुमा शिक्षककै कारण सहमतिमा पुग्न ढिलाइ भएको आरोप लगाउँदै उपमहासचिव ज्ञवालीले बिहीबारसम्म पठनपाठन हुने वातावरण बन्नेमा बैठक आशावादी देखिएको छ।
‘शिक्षकको आन्दोलनको विषय वार्ता सकारात्मक ढङ्गले अगाडि बढेको छ । विश्वास छ, आज दिनभरि महासङ्घ र सरकारबिचको वार्ता निष्कर्षमा पुग्छ। भोलिदेखि पठन पाठन हुने गरी वातावरण बन्छ । सरकारले खेलाँची गरेको होइन । सुरुदेखि नै सरकार गम्भीर छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीले पनि धेरै प्रयास गर्नुभयो । सुरुमा शिक्षक साथीहरू शिक्षा मन्त्रालयसँग वार्ता गर्दिन भन्नुभयो । विधेयक एउटा प्रक्रियामा थियो । सम्बन्धित संसदीय समितिमा विधेयक छलफलमा थियो । ऐन नलिई फर्किन भन्ने अडानले केही ढिलाइ भएको हो ।’
प्रतिक्रिया