काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बिहीबार देखिएको विद्युत् अवरुद्धलाई लिएर कुनै चिन्ता नलिन आग्रह गर्नुभएको।
शाक्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको भन्दै अन्य कारण नभएको बताउनु भयो।
बिहीबार ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको उहाँले बताउनु भयो।
प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको शाक्यकाे दाबी छ। माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उहाँले बताउनु भयो।
सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै व्यापक चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उहाँले बताउनु भयो।
‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो। त्यो समयमा त्यो क्षेत्रवरिपरि चक्रवातजस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो। धेरै ठाउँमा एकैपटक समस्या भयो’, उहाँले भन्नुभयो, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगन्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’
प्रतिक्रिया