काठमाडौं-साइबर क्राइमको मुद्दा दर्ता भएपछि पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्।पाठक आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
पत्रकार पाठकको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान भइरहेको हो। आजै थुनछेक हुने बताइएको छ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो।
उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।
पत्रकार पाठकलाई विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गत सजाय माग गरिएको छ। पत्रकार पाठकविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख छैन।
विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ। पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।
प्रतिक्रिया