अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस चौतारी मधेस प्रदेशद्वारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा

प्रेस चौतारी मधेस प्रदेशद्वारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा


बर्दिबास-प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ। प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको बिहीबार बर्दिबासमा सम्पन्न पहिलो बैठकले महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो।

महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका संस्थापक अध्यक्ष हुनुहुन्छ। महतको वैशाख ३० गते अल्पायुमा निधन भएको थियो। महतको स्मृतिमा स्थापना गरिएको २५ हजार राशिको उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिने प्रदेश समितिका अध्यक्ष लालबाबु शेखले जानकारी दिनुभएको छ।

उक्त पुरस्कारका लागि प्रेस चौतारीले अक्षय कोष समेत स्थापना गर्ने भएको छ। कोषलाई सबल बनाउन अध्यक्ष शेखले मदेसका प्रत्येक जिल्लाले ५० हजार र प्रदेश समितिले एक लाख सहयोग गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई बैठकले ताली बजाएर अनुमोदन गरेको थियो। कोषलाई थप व्यवस्थित बनाउन पहल गरिने समेत शेखले बताउनुभएको छ।

यसै गरी प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिले फागुनमा मधेस सञ्चार सम्मेलन गर्ने भएको छ। उक्त सम्मेलन वीरगन्जमा आयोजना हुने केन्द्रीय सदस्य एवम् मधेस प्रदेश इन्चार्ज अच्युत पौडेलले जानकारी दिनुभयो।

सञ्चार सम्मेलनसँगै चौतारीले प्रशिक्षण वर्षलाई सफल बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र मधेस प्रदेश भित्र प्रेस चौतारीको वैचारिक यात्रा समेत गर्ने भएको छ। चौतारी मधेस प्रदेशले एक वर्षे कार्य योजना बनाएर अघि बढेको र वार्षिक कार्य योजना उत्साहजनक ढङ्गले सफल बनाउने इन्चार्ज पौडेलको भनाई थियो।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहित चौतारीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्ष, चौतारीका अग्रज व्यक्तित्वको उपस्थिति रहेको थियो।

प्रेस चौतारी मधेस प्रदेश समितिका अध्यक्ष शेखको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण प्रदेश महासचिव दिवाकर भण्डारीले गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य सुनिता कुमारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रेस चौतारी नेपालको टोलीद्वारा स्वर्गीय फणिदेव महतको परिवारसँग भेट

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको नेतृत्वको टोलीले स्वर्गीय फणिदेव महतको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ। बर्दिबासमा आयोजित मधेश प्रदेश बैठक सकेर प्रेस चौतारी नेपालको टोली रौतहट पुगेर परिवारसँग भेट गरेको हो।

भेटका क्रममा केन्द्रीय अध्यक्ष पाण्डेले महतकी पत्नी सुनन्दालाई समवेदना व्यक्त गर्नुभएको छ। पाण्डेले महतका दुई छोराको शिक्षाका लागि संगठनले आवश्यक पहल गर्ने समेत बताउनुभयो। सो क्रममा अध्यक्ष पाण्डेले मधेश प्रदेशको पहिलो बैठकमा संकलन भएको ६० हजार रकम महत पत्नी सुनन्दालाई हस्तान्तरण गर्नुभएको छ।

भेटका क्रममा महासचिव हिरामान लामा, मधेश इन्चार्ज अच्युत पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य रमेश सुवेदी, रमेश तिमिल्सिना, सुमन ढुंगाना, इन्दीप कोइराला, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, महासचिव दिवाकर भण्डारी, सचिव श्याम कुशवाहा, ग्यासु मियाँ देवान, कोषाध्यक्ष जितेन्द्र साह, रौतहट जिल्ला अध्यक्ष अशोक पहाडी, बारा अध्यक्ष थानेश्वर सापकोटालगायत उपस्थित हुनुहुन्थ्यो।