काठमाडौँ-क्रिप्टो कारोबारमा संलग्न रहेका ६ चिनियाँ नागरिक सहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन्।
गैर कानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
ललितपुर महानगरपालिका ४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर र मेटो डेटिङ एप सञ्चालन गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।
चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ।
प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ। उनीहरूलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया