अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला


धनगढी-नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन बित्यो। बाजुराको बसाइ न उनको पार्टी सङ्गठनको कामका लागि हो, न कुनै पारिवारिक भेटघाट नै । चौधरीको राजनीतिक भूगोल दाङ हो। प्रदेश लुम्बिनी हो। व्यक्तिगत र पार्टी सङ्गठनका कामले व्यस्त भइरहने शान्ताको यति लामो बाजुरा बसाइ धेरैका लागि जिज्ञासाको विषय बनिरहेको छ।

चौधरी एमालेको नेतृ मात्रै होइनन्, एक सफल उद्यमी पनि हुन्। त्यो पनि विश्वव्यापी बजारमा आफ्नो उत्पादन पुर्‍याउन सफल नामी उद्यमी। त्यही उद्यमशीलतासँग यहाँका महिलाहरूलाई जोड्न उहाँ बाजुरा आउनु भएको हो। उद्यम विकास तालिमकै लागि बसाइ पनि दश दिन लामो भएको हो। अचार तथा मस्यौरा गुन्द्रुक बनाउने तालिमको सीप सिकाउन शान्ता नेतृत्वको चार जनाको टिम बाजुरामै छ।

तालिम बडी मालिका नगरपालिका उद्यम विकास शाखाले आयोजना गरेको हो। अचार उद्यमी र उत्पादन गरेको अचारको विश्व बजारमा चुलिँदो लोकप्रियताकै कारण पालिकाले शान्तालाई प्रशिक्षकको रूपमा ल्याएको हो। नगर प्रमुख अमर खड्काले धेरै अनुरोध गर्नुभो, मेरो धेरै काम छोडेर बाजुराका दिदीबहिनीलाई उद्यमी बनाउन आएको शान्ता बताउनुहुन्छ।  विदेश, काठमाडौं, गृह जिल्ला दाङ बाहेक यति लामो समय एउटै जिल्लामा एउटै कामका लागि बिताएको शान्ताको पहिलो अनुभव हो। 

शान्ता आफ्नै नामको ‘शान्ताको अचार’ उद्योगकी मालिक पनि हुन् । उहाँले बिहान साँझ, रात दिन नभनेर बाजुराका महिलालाई अचार तथा मस्यौरा र गुन्द्रुक बनाउने तालिम सिकाउनु भएको छ। तालिममा बडी मालिका, बुढीनन्दा, गौमुल र खप्तड छेडेदहका ६० जना सहभागी थिए। तालिमबाट करिब दुई सय बट्टा बढी अचार, गुन्द्रुक र मस्यौरा उत्पादन गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जीता शाहीले जानकारी दिनुभयो।

तालिमबाट सहभागी सबैले राम्रो ज्ञान आर्जन गरेको देखिन्छ। अचारका लागि कच्चा पदार्थ उत्पादन गर्न, काट्न, सुकाउन, मसला मिलाउन, बट्टामा प्याक गर्न र त्यसको व्यान्डीङ  गर्न सिकाइएको छ। केही बाहेक ४० मुनिको उमेर समूहलाई महिलालाई तालिममा सहभागी गराइएको थियो।

केही गर्न सकुन्, उद्यममा महिलाको आकर्षण बढोस्, उनीहरू आयआर्जनमा जोडिन सकुन् भन्ने उद्देश्य तालिम आयोजना गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताउनुभयो । ‘सीपको सदुपयोग गर्ने भए, लगानी खेर जाने अवस्था आउने भए सहभागी नहुनुहोला, सीप सिक्ने काम नलाग्ने अवस्था नआओस् भनेर यत्रो महत्त्वाकाङ्क्षी तालिम गराएको हो, अब शान्ताको अचार जस्तै बाजुरामा उत्पादन हुने विश्वास छ’, थापाले भन्नुभयो।

 अचार हेलाको उत्पादन ठानिन्छ, तर विश्व बजारमा अचार, गुन्द्रुक र मसेउरा नै लोकप्रीय छ । तपाई उत्पादन गर्नु, मेरो नामले वा तपाईको नामले सिकाए अनुसारकै गुणस्तरमा ध्यान दिनु होला, बजार र विक्रीको जिम्मा मेरो, शान्ताले सहभागीलाई समापनमा भन्नुभयो।

आफ्नै खटन पटकमा उहाँले तालिम दिनुभयो । ६० जनामध्ये ६ जना मात्रै व्यवसायी भए पनि उपलब्धी हो । अचार बनाउन सकिएन भने पनि अचारका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्नु होला, शान्ताले सुझाव दिनुभयो ।

यो अभ्यास सहीतको तालिम उपलब्धी मुलक बनेको नगर प्रमुख अमर खड्काले बताउनुभयो । एक संघर्षशिल नारी, जिरोबाट स्थापित व्यक्तिको जीवन नै सिकाइ योग्य छ। यही प्रेरणा सहीतको सीप सिकाउन शान्ता जीलाई बोलाएका हौं, उहाँबाट उद्यमशिलतासँगै संघर्ष पनि दुख पनि सिक्नु भयो होला, प्रमुख खड्काले सहभागीलाई भन्नुभयो । सहभागिले पनि तालिम जीवनकै प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो।

सहभागी गंगा भण्डारीले धेरै राम्रो सीकाइ भयो। अब पाँच जनाको टिम मिलेर सुरु गर्ने सोच बनाई सकेको बताउनुभयो । कम लागत, संघर्षपनि धेरै नगर्नु पर्ने, बजारमा ब्राण्ड बनाउन पाए, राम्रो हुन्छ, भन्ने लागेको छ, अब उद्योग नै बनाएर अचार उद्यम गर्छौ, उहाँले भन्नुभयो।

बाजुरामा मुला, चोतो, टिमुर, पिँडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको सम्भावना देखिन्छ। यो संभावनालाई क्याच गर्न सक्नु पर्ने र पालिकाको लगानीलाई सदुपयोग गर्ने कुरा भन्दा पनि आफू आत्मनिर्भर हुने कुरामा बढी जिम्मेवार हुनु पर्ने सुझाव प्रमुख प्रशासकीय अधिकृत पदम माझीको छ।

कुनै झन्झट नमानी, रुचीका साथ तालिम सिक्न पाएको सहभागि निर्मला रावतले बताउनुभयो। गर्नसके सजिलै पैसा कमाउन सकिने रहेछ, सीप र इच्छाशक्ति नभएर मात्रै हो रैछ, यो तालिमपछि केही गरेर देखाउने सोच बन्यो, रावतले भन्नुभयो। बडीमालिका नगरपालिकाले उद्यमी महिला र आयमुलक परिवार बनाउनकै लागि तालिम आयोजना गरेको बताएको छ।

१० वर्षे कमलहरि जीवनको मुक्ति पछि संविधान सभाको सदस्यदेखि सदनमा प्रमुख सचेतक सम्मको जिम्मेवारी सम्हालेकी शान्ताले अहिले शान्ताको अचारको चर्चाले परिचित छन्। आफ्नै नामको अचार ब्राण्ड छ, ‘शान्ताको अचार’ उद्योग। त्यही उद्योगको सिकाइबाट देशव्यापी महिलाहरुलाई उद्यम र आम्दानीमा जोड्ने लक्ष्य शान्ताको छ।

दशदिन तपाईसँगै बसे । जानेको सिकाए । तपाईहरुबाट पनि सिके । अब केही दिन परीक्षामा समय दिन्छु । स्नातक तेस्रो वर्षको परीक्षा आइसक्यो । त्यो पनि तयारी गर्नु छ । पार्टीका काममा पनि ध्यान दिनै पर्ने छ । मेहनत नगरि न जीवन बन्ने रैछ, न समाज नै । हाँसेर बाँच्न पनि आफू सक्षम र सफल बन्नु पर्छ, दश दिने अचार उत्पादन तालिम समापन गर्दै भनिन् । त्यो बेला सहभागि अधिकांशले आँखाबाट आँशु झारे ।

उद्योगलाई उत्पादन, बिक्री र नाफासँग मात्रै जोडेकी छैनन् । उनी सीप हस्तान्तरण गर्ने र सिकाइ आदान प्रदान गर्ने स्कुलका रुपमा अचार उद्योगलाई विकास गर्न चाहन्छिन्। उनी राजनीतिक कामसँगै महिला उद्यमी बढाउने उद्देश्य राखेर हिँडिरहेकी छन् । थोरै भएपनि बाजुरामा सफल हुने आशा बोकेकी छु शान्ताले भन्नुभयो। हालसम्म हजार बढीको संख्यामा महिलालाई अचार सहीतका सीप मुलक तालिम दिइसकेकी छन् ।  

‘बजारमा बस्ने अधिकांश महिला खाली नै देखिनुहुन्छ । रोजगार नभएकाहरूलाई लक्षित गरेर उद्यमी महिला बढाउने र उनीहरूलाई आयआर्जनमा सहभागि गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो’, बडीमालिका २ का अध्यक्ष डम्मर महतले बताउनुभयो । कम श्रम, थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने पेशामा महिलाले गर्न सके राम्रो हुने विश्वास सामाजिक विकास समिति संयोजक समेत रहेका महतको छ ।

अचार ब्राण्डले नै विश्व बजारमा चर्चा पाएको शान्ताको अचार उद्योगसँग बाजुरालाई जोड्न तालिम ऐतिहासिक हुने विश्वास पालिकाको छ । ‘कच्चा पदार्थ धेरै छ । त्यसैलाई प्रशोधनसहित बाजुरामै पनि उत्पादनसहित प्याक गरेर पठाउन सकिएप्नि धेरै रकम आम्दानी हुने अवस्था छ ।

टेलिभिजनमा देखेको मान्छेलाई भेट्दा र तीनैबाट सीप सिकाउँदा तालिममा सहभागी मख्ख थिए । छुट्टीन गाह्रो भएको र अब अचारले जोडिने आश सहभागिको थियो । सांसद, माननीय पनि काम गर्ने रहेछन् । सबै सीप जानेका हुने रैछन् । भन्ने प्रेरणा पाएकोमा उनीहरुले खुसी व्यक्त गर्नुभयो ।

‘उद्योग खोलेको पनि दुई वर्ष मात्रै भयो । ३५ जना कामदार छन् । करोड बढीको लगानी छ । नामपनि छ । दाम पनि छ । भन्ने कुराको सूचनाले पनि केही गरौं भन्ने उत्साहह जागेको सहभागीको भनाई छ ।

कम्तीमा पाँच प्रकारको अचार र मसेउरा सहितको गुन्द्रुक बाजुरामै उत्पादन गर्ने लक्ष्यमा पालिकाको छ । दिनभर टिकटक र मोबाइलमा बस्नेहरुका लागि सुनौलो अवसर पनि हो, अब यसैमा लाग्छौं, सहभागीको साझा प्रतिवद्धता थियो । उनीहरुलाई प्रमाणपत्र समेत दिइएको छ । शान्ता आफै आएर अचार उत्पादन गरेपछि मार्तडी बजारमा पनि सहभागिले बनाएकै अचार विक्रीको माग बढेको देखिन्छ ।