बिर्तामोड-अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुँदा वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको बताउनुभयो ।
बिहीवार अर्जुनधारा नगरपालिका वडा नं। ३ को कार्यालय परिसर खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताउनुभयो । नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरवासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न आग्रह गर्नुभएको छ । घर अगाडि कालोपत्रे भइरहेको छ, सचेत युवा क्यामेरमा व्यस्त छ, उहाँले भन्नुभयो – त्यहि युवा क्यारेम खेलिसकेर नगरपालिकाले केहि गरेन भन्दै फेसबुकमा लेख्छ । बाटो नजिकै घर भएका मान्छेहरुलाई पाहुनालाई जस्तै बोलाउनुपर्छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदैं उहाँले नगरको विकासको दायित्वमा नगरवासीको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । आफ्नो वडामा, घर अगाडि कसरी काम भइरहेको छ भन्ने विषयमा समेत कमैले चासो दिइरहेको उहाँको भनाई छ । काम गरेको नदेख्ने, नकारात्मक कुराहरु मात्र फैल्याउनु भनेको गैरजिम्मेवार नागरिकको काम हो, उहाँले थपे – विकास निर्माणदेखि नगरका सबै किसिमका कामहरुमा नगरबासीले ध्यान दिन जरुरी छ । सबैले तथ्यसहित आलोचना गरेको कुरा पाच्य हुने भए पनि विना तथ्य गर्नु भनेको विरोधको लागि विरोध मात्र हुने स्पष्ट बनाउनुभयो ।
सार्वजनिक सुनुवाईमा मेयर तामाङले खोला दोहनमा पनि नागरिकहरुको तर्फबाट पर्याप्त खवरदारी गर्नुपर्ने सूझाव दिनुभयो । खोला दोहन भइरहेको छ, मेयर नै आएर रोक्नुपर्छ भन्ने मानसिकता त्याग्नुहोस्, उहाँले भन्नुभयो – ‘त्यस्तो अवस्थामा हरेक नागरिकले खवरदारी गर्नुपर्छ । नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं ।’ जनताले चाहे जति विकास अहिले नै पुरा नभए पनि विस्तारै पुरा गर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, अहिले भइरहेको विकासको संरक्षण चै राम्रोसँग गर्नुहोस् ।
कार्यक्रममा विरिङ पुल निर्माणको सम्बन्धमा उठेको जिज्ञासामा जवाफ दिदै मेयर गोम्देनले पुल निर्माणका लागि प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसम्म पुगेर तत्काल निर्माणका लागि सहयोग मागेको जानकारी दिनुभयो । उहाँले आफुलाई पनि विरिङ पुल निर्माण गर्न धेरै हतार नै भएको जानकारी गराउनुभयो ।
सार्वजनिक सुनुवाईमा उपमेयर खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं ३ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले जवाफ दिनुभएको थियो । सहभागीहरुले ट्रिपरलाई टाइम कार्ड लागु गर्नुपर्ने, वडामा टोल विकास संस्था, खेलकुद समिति गठन गर्नुपर्ने, बजारमा प्रभावकारी अनुगमन गर्नुपर्ने, ऐलनी जग्गाको समस्या समाधान गर्नुपर्ने, खोला दोहन रोक्नुपर्ने, अनुदानका सूचना सबैसम्म पुराउनुपर्ने, सडक वत्तिको समस्या समाधान गर्नुपर्ने, वडा नं। ३ को कार्यालय रहेको जग्गा क्षेत्रको समस्या समाधान गर्नुपर्ने, चुनावी घोषणा पुरा गर्नुपर्ने सवाल र सूझाव राख्नुभएको थियो ।
अर्जुनधारा नगरपालिका झापाको आयोजना तथा इजलास मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडाहरुबाट गरिएको नागरिक अभिमत र बहिर्गमन सर्वेक्षणको नतिजा कार्यक्रम संयोजक प्रदीप परियारले सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गर्नुभएको थियो ।
प्रतिक्रिया