अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असंवैधानिक सरकारका कार्य वैधानिक हुँदैन: महन्थ ठाकुर

असंवैधानिक सरकारका कार्य वैधानिक हुँदैन: महन्थ ठाकुर


रौतहट-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताउनु भएको छ।

रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरे पनि पर्याप्त समय र गृहकार्य नभएको बताउनु भएको हो। अबको पाँच महिना भित्र चुनावको आवश्यक सामग्री र कर्मचारी ठाँउठाँउमा पुर्‍याउन चुनौती रहेको उहाँको भनाइ छ।

 विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको अध्यक्ष ठाकुरको भनाइ छ ।

अध्यक्ष ठाकुरले मधेशी जेनजीवादीहरु आफूसँग भेट गरेको स्विकार गर्दै उहाँले चुनावमा सहयोग गर्न भनेको बताउनुभयो। ‘हाम्रा उम्मेदवार नभएको स्थानमा सहयोग गर्ने कुरा भयो’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘मधेशी जेनजीवादीहरुले मधेशकै मुद्दा उठान गरेका छन्।’

यस्तै, गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिनुभएको छ।

‘प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि यस्तै भयो भने हामी सडकमा हुन्छौँ,’ अध्यक्ष ठाकुरले भन्नुभयो। मधेशका अधिकारहरू लडेर प्राप्त गरिएको भन्दै उनले कसैको दयाले नभई संघीयता सयौं सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि भएको अध्यक्ष ठाकुरले बताउनुभयो।