अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी: मुख्यमन्त्री आचार्य

भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी: मुख्यमन्त्री आचार्य


दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन। यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ’ मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा भनिएको छ, ‘समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने स्पष्ट बुझेर सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको छ।’ भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी रहेकामा जोड दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नो भूमिकामा पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

मुख्यमन्त्री आचार्यले नेपाल सन् २०११ देखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै त्यसयता सरकार राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार भ्रष्टाचार आर्थिक दुराचार मात्र नभई सामाजिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पार्ने समस्या हो । यो चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढीकरणमा विभिन्न पहल अघि बढाएको मुख्यमन्त्री आचार्यले बताउनुभयो। सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयाे।

पूर्वविशिष्ट पदाधिकारीका सेवासुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालु खर्च घटाउने पहल तथा विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको उहाँले बताउनुभयो।