काठमाडौं-काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बिहीबार आयोजित नगरसभामा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै आगामी वर्षको बजेट सार्वजनिक गरेकी हुन्।
डंगोलका अनुसार महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्नेछ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका लागि विनियोजन गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो। आगामी वर्षको बजेट चालु वर्षको तुलनामा केही वृद्धि गरिएको छ।
बजेट प्रस्तुत गर्दै डंगोलले आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको जानकारी दिइन्।
महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ। त्यसैगरी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त अनुदान, समानीकरण अनुदान र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
यस्तै, जनसहभागितामार्फत १ करोड रुपैयाँ स्रोत जुट्ने अनुमान महानगरले गरेको छ।
महानगरले आगामी वर्षको बजेटमा पूर्वाधार विकास, सेवा प्रवाह सुधार, शहरी व्यवस्थापन, वातावरण संरक्षण तथा नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।






प्रतिक्रिया