काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन्। असार ४ गते बिहीबारको नगरसभामा कार्यावाहक प्रमुख डंगोलले २५ अर्ब ८८ करोड बजेट प्रस्ताव पेस गरेकी हुन् ।
महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरेको छ। सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
काठमाडौँ महानगरपालिकाले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उपलब्ध गराउने भएको छ।
यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिँड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ।’
यसैगरी महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यवाहक मेयर डङ्गोलले भनिन्- ‘बहालमा लिदिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। करदातालाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ। महानगरवासीहरूले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ।’
महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डङ्गोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ- ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। क्यान्सर जस्ता असाध्य रोगहरूको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ। एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ रु.२ करोड रकम विनियोजन गरिएको छ।’
निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको पनि बजेटमा उल्लेख छ।
महानगरपालिकाले चराचुरुङीका लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ। ‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मुलतः वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा तर्फ १ अरब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अरब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अरब ४१ करोड, हरियाली प्रबर्धन गर्न ४३ करोड, सूचना प्रविधि तर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ।’
महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
‘आगामी आर्थिक वर्ष २०८३–८४ मा करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ,’ बजेटमा भनिएको छ, ‘असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रम समेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजारभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ। साथै करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ।’
कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव पनि गरेको छ।
कारदातालाई वस्तुगत संघहरुसँग आवद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ।






प्रतिक्रिया