काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक झडप तथा त्यसक्रममा भएको एक युवकको मृत्युको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद गोपाल शर्माले उक्त घटनालाई लिएर सरकार, विशेषगरी गृहमन्त्रीको चर्को आलोचना गरे। उनले कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको भन्दै सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए।
सांसद शर्माले घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएको उल्लेख गर्दै यस्तो गम्भीर घटनापछि पनि सरकारले आवश्यक जिम्मेवारी नदेखाएको बताए।
‘गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ ?’ भन्दै उनले प्रश्न गरे, ‘उहाँ सार्वजनिक रूपमा भन्नुहुन्छ– कसैलाई गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ। के नेतृत्व भनेको जिम्मेवारीबाट भाग्ने हो ? राज्य अभिभावक बन्नुपर्छ कि पर्दैन?’
उनले प्रधानमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाउँदै यति ठूलो घटना हुँदा पनि प्रधानमन्त्रीले संसद् वा देशलाई कुनै जानकारी नदिएको टिप्पणी गरे।
‘विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्नेहरू आज आफ्नै कार्यकालमा भएको यति गम्भीर घटनामा किन मौन छन् ? प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने जानकारी न सदनलाई छ, न देशलाई,’ उनले भने।
सांसद शर्माले गृहमन्त्रीको ‘मन्त्रालय लैजाऊ’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवार र अराजक भएको टिप्पणी गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
उनले घटनाबारे प्रधानमन्त्री वा गृहमन्त्री स्वयं संसद्मा उपस्थित भएर वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने र सरकारले घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने पनि माग गरे।


प्रतिक्रिया