काठमाडौं-सुनसरीमा भएको घटनापछि उत्पन्न अवस्थाबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ।
सांसदहरूले तराई-मधेश क्षेत्रमा साम्प्रदायिक तनाव बढिरहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै घटनाबारे संसद्लाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि अन्य जिल्लासम्म गोली चल्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै गृहमन्त्रीले सदनमा उपस्थित भएर घटनाबारे जानकारी दिनुपर्ने बताए। उनले गृहमन्त्री संसद्मा उपस्थित नभएको भन्दै सुनसरीमा सहमति कायम गर्न गृहमन्त्री आफैँ खटिएको अनौपचारिक जानकारी प्राप्त भएको बताए।
ढुंगानाले प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गरे पनि त्यो पर्याप्त नभएको टिप्पणी गरे। ‘चार दिनसम्म सरकार कहाँ थियो ? प्रधानमन्त्रीको सम्बोधन झारा टार्ने खालको देखियो,’ उनले भने। उनले प्रतिनिधिसभामा पनि लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिति नदेखिएको विषय स्मरण गराउँदै सरकारको भूमिकामाथि प्रश्न उठाए।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राईले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समाधानका लागि प्रधानमन्त्रीले सर्वपक्षीय संवादमा जोड दिनुपर्ने बताइन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित हुनुको कारणबारे पनि प्रश्न उठाइन्।
राईले सुनसरी घटनाको समग्र विषयमा सरकारको धारणा स्पष्ट गर्न प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा उपस्थित गराई जवाफ दिन लगाउन राष्ट्रिय सभाका अध्यक्षबाट रुलिङ हुनुपर्ने मागसमेत गरिन्। सांसदहरूले सरकारलाई घटनाबारे पारदर्शी ढंगले जानकारी दिन र शान्ति तथा सद्भाव कायम राख्न प्रभावकारी पहल गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया